गाजाका युद्ध पीडित जनताका लागि १० करोड डलर सहयोग गर्ने बाइडेकाे घोषणा
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाका सर्वसाधारणका लागि १० करोड डलर बराबरको मानवीय सहायता घोषणा गर्नुभएको छ ।
इजरायलको छोटो भ्रमण सकेर फर्कनु अघि उहाँले दक्षिणी गाजा र पश्चिम किनारका युद्ध पीडित सर्वसाधारणका लागि भोजन, पानी र औषधीका लागि सहायता घोषणा गर्नुभएको हो । राष्ट्रपति बाइडेनले सहायता हमासको हातमा नपर्ने ग्यारेन्टी गर्दै सहायता गाजामा पु¥याइने पनि बताउनुभएको छ ।
उता, राष्ट्रपति बाइडेनको आग्रहमा इजिप्टले गाजा क्षेत्रमा सहायता पुर्याउनका लागि आफ्नो सीमा खुला गर्न सहमत भएको छ । इजरायलले भने हमासको कब्जामा रहेका आफ्ना नागरिक मुक्त नभएसम्म आफ्नो सीमातर्फबाट कुनै पनि सहयोग सामग्री समेत प्रवेश गर्न नदिने अडान लिएपछि बाइडेनले इजिप्टलाई आग्रह गर्नुभएको हो ।
यदि सहायत सामग्री हात पार्ने प्रयास हमास वा कुनै आतंककारी समूहले गरेमा त्यो तत्काल रोकिने चेतावनी पनि राष्ट्रपति बाइडेनले दिनुभएको छ । राष्ट्रपति बाइडेनले गाजाको अस्पतालमा भएको आक्रमणमा इजरायलको हात नरहेको भन्दै इजरायललाई सफाइ समेत दिनुभएको छ ।
भ्रमणका क्रममा उहाँले पश्चिम एशियामा इजरायल एक्लो छैन र उसको साथमा अमेरिका छ भन्ने बुझ्न पनि इजरायलका विरोधीहरुलाई सन्देश दिनुभएको छ । हमास–इजरायल युद्धमा अहिलेसम्म ४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।