भारतीय विदेश सचिवको नेपाल भ्रमणको औपचारिक घोषणा

Share Icon

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने नेपाल भ्रमणको नेपाल र भारतले छुट्टा–छुट्टै शुक्रबार औपचारिक रुपमा घोषणा गरेका छन् ।

नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले विदेश सचिव मिस्रीको नेपाल भ्रमणको औपचारिक रुपमा घोषणा गरेका हुन् । नेपालका परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा विदेश सचिव मिस्रीले आइतबार र सोमबार (साउन २७ र २८) नेपालको औपचारिक भ्रमण गर्दैछन् । विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो भने नेपालमा केपी ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि भारतबाट पहिलो भ्रमण हुन लागेको हो ।

परराष्ट्र मन्त्रालय विज्ञप्ति जारी गर्दै दुई सचिवहरुले नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने र संयुक्त लाभ हुने विषयमा सहकार्य गर्दै अघि बढ्नेलगायत विभिन्न पक्षहरुमा कुराकानी गर्ने उल्लेख गरेको छ । साथै, भारतीय विदेश सचिवले उच्चस्तरीय भेटवार्ता गर्ने पनि बताइएको छ ।

उनले नेपालमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ भने परराष्ट्र सचिव लम्सालसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार सचिव मिस्रीको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदान–प्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने उल्लेख छ ।

‘भारत र नेपालबीच सदियौं पुरानो सभ्यतागत, सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको छ, र भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टीभीटी परियोजनाहरु सम्पन्न भई र नयाँ परियोजनाहरु अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिँदै पछिल्लो वर्षहरुमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको छ,’ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुनेछ ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.