नयाँ नोट सटही सुविधा भोलिसम्म
२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भएको दशैं–तिहार लक्षित नयाँ नोट सटही सुविधा सर्वसाधारणले शुक्रबारसम्म पाउने भएका छन् ।
सोमबारदेखि राष्ट्र बैकले नयाँ नोट सटही गर्न सुरु गरेको हो । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । नयाँ नोट सटही सुविधा कार्तिक ३ गते शुक्रबारसम्म रहने राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारण नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले पाइरहेका छन् ।
नयाँ नोटका लागि काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैक अन्तर्गतको मुद्रा ब्ववस्थापन विभाग, राष्ट्रिय वाणिज्य बैंक र वाणिज्य बैंकहरुले तोकेको शाखाबाट सटही भइरहेको छ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।
विगतका वर्षहरुमा भन्दा यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ । बैंकहरुले सटही गर्दा ५ को एक प्याकेट, १० को, २० को, ५० को र सय रुपैयाँ दरको एक प्याकेट उपलब्ध गराइरहेका छन् ।
कतिपय बैंकहरुले भने गत वर्षको भन्दा राष्ट्र बैंकले साट्नका लागि यो वर्ष थोरै नयाँ नोट उपलब्ध गराएको जनाएका छन् ।