सुस्ताएको चिनियाँ अर्थतन्त्र र रियलस्टेट क्षेत्रको समस्या
सन् १९७८ मा जब चीनले आफ्नो अर्थव्यवस्थाको ढोका बाहिरी दुनियाँका लागि खोल्यो र आर्थिक सुधार गर्न सुरु गर्यो तब उसको अर्थतन्त्रले औसतमा ९ प्रतिशतको दरले वृद्धि हासिल गरिरहेको थियो । तर कोभिड १९ को महामारीले विश्वको विकासको इन्जिन भनिने चीनको अर्थव्यवस्थामा पनि ध्वंस मच्चायो । जसका कारण सन् २०२० मा चीनको आर्थिक वृद्धिदर माइनस २.२ प्रतिशतसम्म गिरावट आएको थियो जुन पछिल्ला धेरै दशकयताको सबैभन्दा कम आर्थिक वृद्धिदर थियो ।
तथापि अर्को वर्ष चीनको अर्थव्यवस्था पुनः लिकमा आयो र वृद्धिदर ८ प्रतिशतमा पुग्यो । सन् २०२२ मा भने चिनियाँ अर्थतन्त्रले केवल ३ प्रतिशतको वृद्धिदर हासिल गर्न सकेको थियो ।यस्तोमा यो सवाल उठिरहेको छ कि के चीन कम वृद्धिदरको लामो यात्रामा प्रवेश गरिसकेको हो त ?
गत जनवरीमा चीनले घोषणा गरेको थियो कि सन् २०२३ मा उसको अर्थव्यवस्थाको वृद्धिदर ५.२ प्रतिशत रहेको थियो । यद्यपि यो वृद्धिदर विश्वका ठूला अर्थतन्त्र भएका मुलुकमध्येमा भारतपछिको दोस्रो थियो । तर, यहाँनेर बुझ्नैपर्ने कुरा के छ भने चिनिया अर्थव्यवस्था भारतको भन्दा ५ गुणा ठूलो छ ।
तर, चीनभित्र मानिसहरुको अनुभव फरक छ : पछिल्लो पाँच वर्षमा पहिलोपटक यस्तो भयो, जब सन् २०२३ मा चीनबाट सर्वाधिक वैदेशिक लगानी बाहिर गयो, युवाहरुको बेरोजगारी दर गत वर्षको जुन महिनामा २० प्रतिशतको कीर्तिमानी उचाइमा पुगेको थियो अनि यो वर्ष चीनको शेयर बजार पाँच वर्षमा सबैभन्दा न्यून विन्दुमा खस्किएको छ ।
चीनमा केही सीमित नागरिकहरुले आफ्नो देशको अर्थव्यवस्थाको यस्तो पतनलाई लिएर चीनस्थित अमेरिकी दूतावासको विबो अकाउन्टमा खुलेर आक्रोश प्रकट गरेका थिए ।
त्यहाँ एकजना प्रयोगकर्ताले लामो समयसम्म बेरोजगार रहँदा तथा ऋणमा डुबेका कारण मानिसहरुसँग सहयोगको अपिल गरेका थिए । त्यस्तै अर्का एकजनाले चाहिं शेयर बजारमा आफूले ठूलो रकम गुमाएको रिस पोख्दै सांघाइ शेयर बजारमालाई ध्वस्त पार्नका लागि अमेरिकासँग मिसाइल तथा बम मागिरहेका थिए ।
तर तीमध्ये अधिकांस पोस्टलाई पछि डिलिट गरिएको पश्चिमा मिडियाहरुको भनाइ छ । डच बैंक आइएजीमा ग्रेट चाइनाका मुख्य अर्थशास्त्री लिन संगका अनुसार कोभिड १९ पछि चीनको पुनरुत्थानमा देखा परेको कमजोरीको कारण चाहिं कोभिडपछि देशको विकासदर बढाउनका लागि चीनले आक्रामक नीतिहरु लागू गरेन ।
अर्कोतर्फ अमेरिका लगायतका देशहरुले चाहिं कोभिडबाट राहत दिनका लागि योजनाहरु लागू गरे । अमेरिकाको १.९ खर्ब डलरवाला राहत योजनाअन्तर्गत बेरोजगारहरुलाई आर्थिक सहयोग उपलब्ध गराइयो भने महामारीका क्रममा साना व्यवसायीहरु, राज्यहरु तथा स्थानीय प्रशासनलाई समेत अतिरिक्त सहायता प्रदान गरियो ।
इकोनोमिक इन्टेलिजेन्स युनिटका वरिष्ठ अर्थशास्त्री टियानचेन शू चाहिं चीनको अर्थ व्यवस्था कुनै पनि संकटमा नरहेको दाबी गर्दछन्
लिन संग भन्छन् -महामारी अवधिभर नै चीनको आर्थिक नीति निकै सचेत थियो । फलतः चीनमा मुद्रास्फीतिको चुनौती देखा परेन । तर यसले देशको आर्थिक पुनरुत्थानको गतिलाई भने कमजोर पारिदियो ।
चिनियाँ नागरिकहरुले आफ्नो आवासका लागि यस्ता घरहरुको समेत सबै रकम चुक्ता गरे जुन अहिलेसम्म बनेकै छैनन् । लगानी बैंक युबीएसका वैंग ताओ चाहिं चीनको अर्थव्यवस्थाले पुनः गति पक्रिन नसक्नुको अर्को कारण पनि रहेको संकेत गर्दछिन् । उनी भन्छिन्- यसबेला चीन आफ्नो इतिहासमा सम्पत्तिको बजारमा गिरावटको सबैभन्दा खराब यात्राबाट गुज्रिरहेको छ।
उनका अनुसार चीनको ६० प्रतिशत भन्दा धेरै घरेलु सम्पत्ति हाउजिंग क्षेत्रमा लागेको छ । जब घरहरुको मूल्य खस्किन्छ तब निश्चित रुपमा मानिसहरु पैसा खर्च गर्न हिच्किचाउँछन् ।
उदाहरणका रुपमा यसको स्पष्ट संकेत यो छ कि ठूला घरेलु उपकरणहरुको खपतमा पनि उल्लेख्य गिरावट आएको छ । चीनको अर्थव्यवस्थामा त्यहाँको प्रपर्टी मार्केटको निकै गहिरो असर परेको छ किनकि त्यहाँको अर्थव्यवस्थामा उक्त क्षेत्रको एक तिहाई हिस्सा रहेको छ।
चीनको रियलस्टेट क्षेत्र सन् २०२१ देखि नै पुँजीको न्यूनतासँग जुधिरहेकेा छ । त्यसबेला चीन सरकारले ठूला रियल्टी कम्पनीहरुले मोटो रकम कर्जा लिने सम्बन्धमा विभिन्न खालका पावन्दीहरु लगाएको थियो।
प्छिल्लो केही वर्षदेखि चीनको रियलस्टेट क्षेत्रले नयाँ परियोजनाहरुका लागि बैंकबाट ठूलो रकम उधारो लिने गरेको छ। यसका अलावा रियल्टी कम्पनीहरुले बन्ड जारी गरेर तथा भवन बन्नुअघि नै खरीदकर्तालाई बिक्री गरेर पैसा जुटाउने गरेका छन् ।
कारोबारको यो मोडेल लामो समयदेखि धेरै देशहरुमा चल्यो । तर चीनका रियल्टी कारेाबारीहरु भने आफ्नो क्षमताभन्दा अत्यधिक कर्जा लिइरहेका थिए । चीनका धेरै नागरिकहरुले ती डेभलपर्सहरुलाई यस्ता भवनहरुका लागि पैसा भुक्तान गरिदिएका थिए जुन या त आधा अधूरा बनेका थिए या त बनेकै थिएनन् ।
अहिले उनीहरुलाई आफ्नो मेहेनतको कमाई डुब्ने खतरा मडारिएको छ । त्यसमध्ये कतिपय मानिसहरु यस्ता छन् जसले आफ्नो जिवनभरको पुँजी घरमै लगाएका छन्, जुन डुब्ने जोखिममा छ।
स्थानीय सरकारहरुले आधारभूत संरचनाको विकासका लागि अर्बौं डलर रकम कर्जा लिएका छन् र उक्त कर्जा चुक्ता गर्नका लागि जग्गा बिक्री गरेर आम्दानी गर्ने विश्वास थियो । तर अहिले घरजग्गाको बजारमा गिरावट आउँदा स्थानीय सरकारहरुमाथि पनि दबाब बढेको छ ।
स्थानीय सरकारहरुको कर्जा सन् २०२२ मा बढेर ९२ खर्ब युआन पुगेको थियो, जुन चीनको आर्थिक उत्पादनको ७६ प्रतिशत हो । अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०१९ मा उक्त रकम चीनको आर्थिक उत्पादनको ६२.२ प्रतिशत थियो ।
यद्यपि इकोनोमिक इन्टेलिजेन्स युनिटका वरिष्ठ अर्थशास्त्री टियानचेन शू चाहिं चीनको अर्थ व्यवस्था कुनै पनि संकटमा नरहेको दाबी गर्दछन् । उनका अनुसार सन् २०१० को दशकमा चीनको विकासदरलाई कर्जा प्रवाह गरेर तीव्र बनाइएको थियो । त्यस क्रममा घरजग्गा बजार तथा आधारभूत संरचनाहरुमा पनि जबरजस्त बढोत्तरी भएको थियो ।
शू भन्छन्-आज जब चीनले आफ्नो त्यो मोडेलबाट आफ्नो सन्तुलन बनाउने कोसिस गरिरहेको छ भने केही गिरावट त आउँछ नै । यस्तो लाग्दैछ कि एउटा विशाल मेसिन चल्दा चल्दा थकानको सिकार भएको छ र यसका केही पाटपुर्जाहरु हल्लिन थालेका छन् । – बीबीसी