Share Icon

काठमाडाैं । भारत सरकारले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकास्थित धुलिखेल अस्पतालको वार्ड भवनको निर्माण गरेकाे छ। ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत ४ कराेड २६ लाख बजेटमा निर्मित उक्त वार्ड भवनकाे आज उद्घाटन गरिएकाे छ ।

उक्त वार्ड भवनको भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले उद्घाटन गरेका हुन् । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा यस अस्पताललाई आवश्यक पर्ने अन्य सुविधासँगै वार्ड भवनको निर्माण गरिएकाे काठमाडाैंस्थित रहेकाे भारतीय राजदूतावासले जनाएकाे छ।

कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक तथा प्रशासनिक निर्देशकले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।

नवनिर्मित वार्ड भवनले नेपाली जनतालाई स्वास्थ्य सेवामा गुणस्तरिय पूर्वाधार र राम्रो वातावरण उपलब्ध गराउन मद्दत गर्ने दूतावासकाे भनाइ छ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हाे । उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, अस्पताल व्यवस्थापनका प्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

यस परयोजनाको कार्यान्वयन धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोकमार्फत गरिएको थियो । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण हो ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये काभ्रेपलाञ्चोक जिल्लाका ७ वटा परियोजनासहित बागमती प्रदेशको विभिन्न क्षेत्रमा १०६ वटा परियोजनाहरु रहेका छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये काभ्रेपलाञ्चोक जिल्लालाई प्रदान गरिएको ८ वटा स्कुल बस र १६ वटा एम्बुलेन्ससहित बागमती प्रदेशलाई २३६ वटा एम्बुलेन्स र ९८ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ जसमा भारत सरकारले सन् २०२१ जनवरीमा यस अस्पतालका लागि एउटा एम्बुलेन्स (एड्भान्स लाइफ सपोर्ट) उपहारस्वरुप प्रदान गरेको थियो । यस एम्बुलेन्सले स्वास्थोपचारमा पहिलो सेवा दिदै आकस्मिक स्वास्थ्य सेवाको लागि महत्वपूर्ण योगदान पुऱ्याइरहेको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

Facebook Comments Box

Share Icon