राससले सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न हरसम्भाव प्रयास गरिरहेको छ : महाप्रबन्धक राई
७ फागुन,काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सिद्धराज राईले आजको डिजिटल युगमा राससलाई समयनुकूल परिवर्तन गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न हरसम्भाव प्रयास गरिरहेको बताउनुभएको छ ।
राससको ६२औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उहाँले राससले आफ्नो सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन आन्तरिक सुशासन, आर्थिक मितव्ययिता, भौतिक सम्पत्तिको संरक्षण र उपयोग, क्षमता विकास, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलगायतका विषयमा निरन्तर काम गरिरहेको उल्लेख गर्नुभएको छ ।
नागरिकलाई सूचनाको हक सुनिश्चित गराउन, सामाजिक रुपान्तरणको अभियानमा हातेमालो गर्न र आधिकारिक सूचना सम्प्रेषण गर्न राससले आफूलाई अग्रमोर्चामा उभ्याउन सफल भएको सन्देशमा भनिएको छ ।
“यस अवसरमा राससका सम्पूर्ण सेवाग्राही, समाचार सङ्कलन तथा सम्पादनमा खटिने पत्रकार, प्रशासनमा कार्यरत कर्मचारी र शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद र शुभकामना दिन्छु, राससले यो अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका निभाउने पूर्वअध्यक्ष, पूर्वमहाप्रबन्धक, पत्रकार र कर्मचारीलाई यो वार्षिकोत्सवका अवसरमा आभार प्रकट गर्दछु”, सन्देशमा उल्लेख छ ।
रासस स्थापना भएको ६२ वर्ष पुगेको छ । राष्ट्रिय समाचार समिति २०१८ फागुन ७ गते विधिवत् स्थापना भएको संस्था हो । नेपाल सरकारको आधिकारिक समाचार समितिको रूपमा रहेको यो संस्था सुरुमा राष्ट्रिय संवाद समितिको रूपमा स्थापना भएको हो । नेपाल संवाद समिति र सगरमाथा संवाद समितिलाई एकीकृत गरी राष्ट्रिय संवाद समिति बनाइएको हो ।
यो संस्था विसं २०२८ मा ऐन संशोधनपछि राष्ट्रिय समाचार समितिमा रुपान्तरण भयो । यो अवधिमा राससले अनेकौँ आरोह–अवरोह पार गरेको छ । पञ्चायत, बहुदल, सशस्त्र द्वन्द्व हुँदै लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुग्दा राससले राज्य र सरकारको पक्षमा निरन्तर कलम चलाउँदै आएको छ ।
‘सूचना र सञ्चार, जनताको अधिकार’ भन्ने मूलमन्त्रअनुसार राज्यले दिने सेवा र सरकारको कामका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना सम्प्रेषण गरेर राससले अलग्गै पहिचान बनाउन सफल भएको महाप्रबन्धक राईको भनाइ छ ।
उहाँले राससलाई यहाँसम्म पु¥याउन सहयोग गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्य विभिन्न निकायहरू, अन्तरिकरूपमा सहयोग गर्ने कार्यालयमा महाशाखा प्रमुख, विभागीय प्रमुख, सम्पादक, समाचारदाता र कर्मचारी सबैलाई हार्दिक आभार र धन्यवादसमेत व्यक्त गर्नुभएको छ ।