स्वास्थ्य शिविर

Share Icon

१ फागुन,विराटनगर । विराटनगर महानगरपालिकाले आइतबारदेखि विराटनगरको दक्षिणी क्षेत्रबाट स्वास्थ्य शिविर सुरु गरेको छ । महानगरले वडा नं १८ फडानी चोकबाट निःशुल्क एकीकृत स्वास्थ्य शिविर थालनी गरेको हो ।

स्वास्थ्य शिविरको महानगरका प्रमुख नागेश कोइरालाले उद्घाटन गर्दै महानगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

उहाँले महानगरका अन्य वडामा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी गराउँदै “महानगरवासीको स्वास्थ्यप्रति हामी गम्भीर छौँ”, उहाँले भन्नुभयो, “महानगरले तपाईंहरूकै घरआँगनमा आएर स्वास्थ्य चेकजाँच सुरु गरेको छ । यसबाट बढीभन्दा बढी लाभ लिन म महानगरवासीलाई आग्रह गर्दछु ।”

उपप्रमुख शिल्पा निराला कार्कीले दक्षिणी क्षेत्रलाई महानगरले उच्च प्राथमिकता राखेको बताउँदै यस्ता शिविरबाट रोगको बेलैमा पहिचान हुन्छ र समयमै उपचार गर्दा पछि समस्या हुँदैन भन्नुभयो । प्रमुख प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, महानगरको सामाजिक समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नं १८ का अध्यक्ष जितेन्द्रकुमार साहलगायतले स्वास्थ्य शिविरबाट रोग लागे नलागेको पहिचान हुने धारणा राख्नुभयो ।

शिविरमा फिजिसियन, सर्जरी, स्त्री तथा प्रसूति रोग, बालरोग, मुख तथा दन्तरोग, छाला तथा यौनरोग, इसिजी सेवा, भिडियो एक्सरे, उच्च रक्तचाप, सुगर, क्षयरोगका बिरामीको खोजलगायतका सेवा प्रवाह गरिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो ।

नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, कोसी अस्पताल र नाटाको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा शिविरमा तीन सय १९ जनाले सेवा लिएका थिए ।

तीमध्ये ९८ पुरुष र २२१ महिलाले स्वास्थ्य सेवा लिएको शिविरका फोकल पर्सनसमेत रहेका स्वास्थ्य अधिकृत भोलानाथ तिम्सिनाले बताउनुभयो । शिविरमा सबैभन्दा बढी छाला तथा स्त्रीरोगको समस्या भएका बिरामी आएको बताइएको छ । स्वास्थ्य समस्या देखिएकाको कोसी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.