स्वास्थ्य सेवा सुधार्न सञ्चार प्रविधिको प्रयोग बढाआँै: मन्त्री शर्मा

Share Icon

२५ फागुन,काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले आमसञ्चार तथा सूचना प्रविधिलाई स्वास्थ्य सेवा सुधारमा उपयोग गर्ने नीतिका साथ सरकारले प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ ।

स्वास्थ्य सेवा विभागद्वारा आज यहाँ आयोजित महिला स्वास्थ्य सम्मेलनको शुभारम्भ गर्नुहुँदै उहाँले प्रभावकारी टेलिमेडिसिन, डिजिटल सचेतनालगायत कार्यक्रममार्फत स्वास्थ्य सेवा सुधारका लागि प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।

संविधानमा प्रजनन स्वास्थ्यलाई उल्लेख गर्नु ठूलो उपलब्धि भएको जनाउँदै उहाँले अब यसको कार्यान्वयनमा सबै क्षेत्रको गम्भीररुपमा ध्यान जानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले प्रजनन स्वास्थ्यलाई मौलिक हक त बनायौँ तर यसको कार्यान्वयन कसरी गर्ने भनेर आम महिलामा लैजान सकेका छैनौँ, अब यसको सचेतनता र कार्यान्वयनमा जोड दिनुपर्छ । यसमा आमसञ्चार तथा सूचना प्रविधिको व्यापक परिचालन गर्ने नीति बनाउनुपर्छ ।”

बुधबार मात्रै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा प्रधानमन्त्रीले महिला स्वास्थ्यसम्बन्धी विशेष घोषणा गरेको स्मरण गराउँदै उहाँले यसलाई प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्नुभयो ।

स्वस्थ नागरिकका लागि हरेक आमा स्वस्थ हुनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले महिलाको स्वास्थ्यलाई स्वस्थ नागरिक र सबल राष्ट्र निर्माणको आधार बनाउनुपर्ने बताउनुभयो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा विज्ञका कार्यपत्रमा छलफल हुने र यसबाट महिला स्वास्थ्यसम्बन्धी नीति निर्माण गर्न सहयोग पुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.