Share Icon

९ कार्तिक, काठमाडौं। मलेसियामा यूएईलाई पराजित गर्दै एसीसी यु-१९ प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली बिहीबार काठमाडौं फर्किएको छ ।

क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट एशाेसिएसन अफ नेपाल (क्यान)का पदाधिकारीहरुले फूलमाला र खादा लगाइदिएर स्वागत गरेका हुन् । विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मुख्य प्रशिक्षक जगत टमाटाले यु-१९ टोलीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै जितको सम्पूर्ण श्रेय उनीहरुलाई नै दिने बताएका छन्।

भविष्यमा उनीहरुको राम्रो संकेत देखिएको बताउँदै उनले भने ‘केटाहरु सिनियरका लागि नक गर्दैछन् । उनीहरुले गरेको पर्फमेन्सलाई हेरेर ओभरअल क्रेडिट म प्लेअरहरुलाई दिन्छु । किनभने उनीहरुले जुन पर्फमेन्स गरेका थिए, सुपर थियो त्यो ।’

उनीहरुले राम्रो मिहिनेत गरिरहेको भन्दै टमाटाले अब एसिया कप र वर्ल्डकपका लागि चुनौती रहेकाले आवश्यक तयारी गरिरहेको बताएका छन्। राम्रो माइन्डसेट बनाएको भन्दै उनले क्रिकेट एशाेसिएसनसँग बसेर छलफल गर्ने बताएका छन्।

तिहार पछाडी सिनियर टिमसँग दुई-तीन वटा म्याच खेल्ने वा एक्सपोजरका लागि इन्डिया, बंगलादेश वा श्रीलंकासँग खेल्न सकिने मुख्य प्रशिक्षक टमाटाले बताएका छन्।

Facebook Comments Box

Share Icon