नारायणी नदी किनारमा आरतीस्थल बनाइने
१६ फागुन,चितवन । नारायणगढ बजार नजिकै नारायणी नदी किनारमा आरतीस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिकाले सो क्षेत्रका लागि तयार पारेको गुरुयोजनामा पर्ने गरी आरतीस्थल निर्माण गर्न लागिएको हो ।
सघन सहरी तथा भवन निर्माण आयोजनाले सो स्थल निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार नदी किनारमा साँझमा आरती गर्न सुन्दर देखिने गरी आरतीस्थल निर्माण गर्न लागिएको हो ।
नदी किनारमा हाल बगरमा उभिएर नियमित आरती गरिँदै आइएको छ । उहाँले भन्नुभयो, “यो स्थल निर्माणसँगै आरती गर्नेका लागि सहज र सुन्दर हुने छ ।” आरतीस्थल २८ मिटर लम्बाइ र पाँच मिटर चौडाइको हुनेछ ।
उहाँका अनुसार जमिनको सतहबाट केही मिटर अग्लो बनाइने आरतीस्थल ढुङ्गाले छापिने छ । आरतीस्थलको बाहिरी भागमा ‘मोज्याक टायल’ लगाइने छ ।
सबै क्षेत्रलाई उज्यालो दिने गरी आकर्षक ४५ वटा बत्ती जडान गरिने दाहालले जानकारी दिनुभयो । आरतीस्थलको पूर्व र पश्चिमतर्फको नदी तटीय क्षेत्रमा सिँढी निर्माण गरेर तटबन्ध गरिँदै छ ।
निर्माण कार्य पनि यसै वर्ष सुरु हँुदैछ । सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख प्रकाश अर्यालका अनुसार आरतीस्थल, देवघाटमा बसपार्क र महानगरभित्रका विभिन्न ठाउँका १८ किलोमिटर सडक कालोपत्र एक साथ ठेक्का सम्झौता गरिएको छ ।
रु ४१ करोड १९ लाखमा ठेक्का लगाइएको हो । १८ महिनामा सम्पन्न हुने गरी महालक्ष्मी ओम सत्यसायी जेभिले निर्माण सम्झौता गरेको छ ।
आरतीस्थलको काम थोरै भएकाले छिटो सम्पन्न हुने छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नदी किनारमा आरतीस्थल, तटबन्धन, पैदलमार्ग, हरियाली पार्क लगायतको निर्माणको काम एकैसाथ हुन लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आरतीस्थल निर्माणसँगै नदी किनारमा नियमित व्यवस्थित आरती गर्न सहज हुने छ ।” यसले धार्मिक पर्यटक प्रवद्र्धन गर्न सहयोग पुग्ने अधिकारीको भनाइ छ ।