प्रधानमन्त्री दाहालको चीन भ्रमण आर्थिक दृष्टिले फलदायीः अध्यक्ष ढकाल
१३ असाेज,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको बताउनुभएको छ ।
उहाँले नेपालमा चिनियाँ लगानी बढाउनुका साथै अन्य आर्थिक सम्भावनाको खोजी गरिएको बताउनुभएकाे हाे। चीनसँग संयुक्त लगानीका लागि केही सम्झौता भएको र नेपालमा चिनियाँ लगानी भित्रने उहाँको भनाइ थियो ।
सम्मेलन मार्फत चिनियाँ व्यवसायीलाई नेपालमा लगानीको सम्भावना रहेको सन्देश दिएको उहाँको भनाइ छ । प्रधानमन्त्रीले नेपालमा चिनियाँ लगानीको सुरक्षा र सहयोगको प्रतिवद्धता व्यक्त गरेका कारण चिनियाँ लगानीकर्ता पनि उत्सुक देखिएकाले यो भ्रमण आर्थिक दृष्टिले फलदायी भएको अध्यक्ष ढकालले बताउनुभयाे।
सिसिपिआइटीका प्रतिनिधि र चिनियाँ मन्त्रीले नेपालमा लगानीका प्रशस्त सम्भावना आफूहरूले देखेको र नेपालमा उत्पादित वस्तुको बजार चीन नै हुनसक्ने संकेत गरेको पनि उहाँकाे भनाइ छ । महासंघले पनि वैदेशिक लगानी सहजीकरण डेस्क स्थापना गरेको र यस मार्फत आवश्यक सहयोग एवं सहजीकरण गर्न सक्ने जानकारी गराएको बताउनुभयो ।
भूकम्प र कोरोना महामारीका कारण बन्द भएका दुई देशबीचका नाका भ्रमणका क्रममा खुलाउने विषयमा सहमति भएकाले पनि व्यवसायी उत्साहित भएको उहाँको तर्क छ ।







