बारागढी गाउँपालिकाद्वारा चुल्हाेसहित ग्यास सिलिण्डर वितरण
बारा । बाराको बारागढी गाउँपालिकाले गाउँ आज ३ सय १२ घरधुरीलाई चुल्हाेसहित ग्यास सिलिण्डर वितरण गरेको छ ।
चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम अन्तरगत आज वडा नम्बर १ का ९ सय ४४ घरधुरीमध्ये ३ सय १२ घरधुरीलाई चुल्हाेसहित ग्यास सिलिण्डर वितरण गरिएकाे गाउँपालिकाका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनु भयाे ।
उहाँका अनुसार बाँकी रहेका घरधुरीलाई भाेलि चुल्हाेसहित ग्यास सिलिण्डर वितरण गरिने कार्यक्रम रहेकाे छ । गाउँपालकाले आज एक औपचारिक कार्यक्रमकाे आयाेजना गरी चुल्हाेसहित ग्यास सिलिण्डर वितरण गरेकाे गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी रायले बताइन् ।
अधिकांश परिवारले गुईठा र दाउराको प्रयोग गरी खाना पकाउदा स्वास्थ्यमा समस्या हुने गरेकाले चुल्हाेसहित ग्यास सिलिण्डर वितरण गरिएको गाँउपालिकाका प्रमुख प्रशाकीय अधिकृत कमलेश कुमार मिश्र जानकारी दिनुभयाे ।
उहाँले यस्ताे सहयाेगले गाउँपालिकालाई धुवाँरहित बनाउनको लागि ठूलो सहयोग पुग्ने बताउनु भयाे । गाउँमै ग्याँस चुलोमा खाना पकाउन पाउने भएपछि स्थानीय दंग छन। ‘वर्षौंदेखि धुवाँले आँखा पिरो हुँदासम्म खाना पकाउन बाध्य थियौ’, स्थानीय सीता यादवले भन्नुभयाे, ‘अहिले ग्याँस चुलोमा खाना पकाउन पाउँदा खुसी छौ।’
सित्तैमा एउटा ग्याँस चुलो र भरिएको ग्यास सिलन्डर पाएपछि गाउँलेहरु हर्षित भएका छन्। ‘दाउरा खोज्न निकै समस्या हुन्थ्यो, वनजङ्गल पनि विनाश भइरहेको थियो’,अर्की स्थानीय कबिता शाहले भन्नुभयो, ‘गाउँपालिकाले ग्यास सिलिण्डर वितरण गरेपछि बन संरक्षण हुनुका साथै दाउरा र धुँवाको झन्झट हट्नेछ ।’
गाउँपालिकाले जनतामा प्रत्यक्ष पुग्ने यस्तै खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीयले बताएका छन् । गाउँपालिका अध्यक्ष जयसवालकाे अध्यक्षतामा चुल्हाेसहितकाे ग्यास सिलिण्डर वितरण कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सुरेश प्रसाद चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष उमेश प्रसाद साह, कार्यपालिका सदस्य रामएकवाल हाजारा, धन्मनती मलाहीन, रेनु जयसवाल, प्र.प्रा.अधिकृत कमलेश कुमार मिश्र ,लेखा अधिकृत अजय चौधरीलगायत स्थानीयको सहभागिता थियो ।









