Share Icon

बारा । मधेश प्रदेशकाे बारा जिल्लाकाे बारागढीलाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । शक्रबार अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बारागढीलाई साक्षर गाउँपालिका घोषणा गरिएको हो ।

पालिकाका ९७ दशमलव २५ प्रतिशत नागरिक साक्षर भएको सुनिश्चित भएसँगै साक्षर पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनु भयाे ।

जिल्लामा पहिलाे पालिकाकाे रूपमा बारागढी साक्षर पालिका घाेषणा भएकाे हाे । शुक्रबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सराेज यादवले एक कार्यक्रमका बिच बारागढीलाई साक्षर पालिका घोषण गर्नुभयाे । साक्षर पालिका घोषणा गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताउनु भयाे । उहाँले प्रदेशमा तेस्राे पालिकाकाे रूपमा बारागढीलाई साक्षर पालिका घोषण गर्न पाउँदा खुसी व्यक्त गर्नुभयाे ।

सम्बन्धित पालिकामा १५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशत नागरिक साक्षर भएको पाइएमा साक्षर साक्षर पालिका घोषणा गर्न सकिने प्रावधान रहेको छ । मापदण्डअनुसार तय भएका १२ वटा सूचक सबै पार गरेपछि घोषणा कार्यक्रम राखिएको हो। कार्यक्रममा जनप्रतिनिधि, राजनीति दलका नेतालगायत सहभागी थिए।

निर्धारित उमेर समूहका सेवाग्राही साक्षर बनाउन साक्षरता कक्षा सञ्चालन गरिएको थियो। त्यसबाट मोबाइल चलाउन सक्ने, क्याल्कुलेटर थिच्न सक्ने, घडीको समय हेर्ने, अंक चिन्ने, आफ्नो नाम लेख्न सक्ने सेवाग्राही भएको गाउँपालिका अध्यक्ष जयसवालले जानकारी दिनुभयाे।

हाल नेपालमा छ वर्षभन्दा माथिको साक्षरता दर ७८ प्रतिशत, १५ देखि २४ वर्ष उमेर समूहको ९२ प्रतिशत, १५ वर्षमाथिको ५८ प्रतिशत र १५ देखि ६० वर्ष उमेर समूहको साक्षरता दर ८५ रहेको छ ।

प्रतिशतका हिसाबले साक्षरता दर सुधारोन्मुख भने देखिएको छ । किनकि विसं २००४ मा नेपालको साक्षरता दुई प्रतिशत थियो ।हाल नेपालमा ३५ हजार छ सय ७४ विद्यालय रहेकामा २७ हजार आठ सय १२ सामुदायिक, छ हजार सात सय ३२ निजी संस्थागत, एक हजार एक सय ३० परम्परागत विद्यालय रहेका छन् ।

यस्तै दुई हजार एक सय ५१ सामुदायिक सिकाइ केन्द्र, एक सय २१ खुला विद्यालय, औपचारिक प्रौढ विद्यालय एक सय ७१ रहेका छन् । विगतमा साक्षरता अभियानका नाममा सञ्चालन गरिएका विभिन्न कार्यक्रम र प्रयोग प्रभावकारी नभएपछि सरकारले विभिन्न तहका विद्यार्थीलाई स्वयंसेवकका रूपमा परिचालन गर्ने नीति पनि लिएको छ । नेपालमा सन् २००४ देखि साक्षरता अभियान सुरु भएको हो।

Facebook Comments Box

Share Icon