बारागढी गाउँपालिकामा पशुपालक कृषकलाई बाेयर जातका बाेका वितरण
काठमाडाैं । बाराकाे बारागणढी गाउँपालिकामा पशुपालक कृषकहरूलाई बाेयर जातका बाेका वितरण गरिएकाे छ । राेजगार सेवा केन्द्र बारागढी गाउँपालिकाले पालिकाभित्र रहेका पशुपालक कृषकहरूलाई बाेयर जातका बाेका वितरण गरेकाे हाे ।
परम्परागत बाख्रा पालन गरिरहेका किसानहरुलाई व्यवसायिक बाख्रा पालनमा आकर्षित गर्न केन्द्रले गाउँपालिकाका विभिन्न वडामा रहेका कृषकहरूलाई उन्नत बाेयर प्रजातिको बोका वितरण गरेको हो।
बैदेशिक राेजगारबाट फर्केका व्यक्तिहरूका लागि पुन:एकीकरण कार्यक्रम अन्तर्गत बाख्रापालन कार्यक्रममार्फत बोका वितरण गरिएकाे हाे ।
केन्द्रले स्थानीयभन्दा उन्नत जातको बोका पाल्न सजिलो, कम समयमा बढी तौल हुने र आम्दानी दोब्बर बढीले बढ्ने भएकाले व्यावसायिक बाख्रापालनमा किसानलाई अग्रसर बनाउनका लागि बाेयर प्रजातिकाे बाेका वितरण गरेकाे गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनु भयाे ।
गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले पशुपालक कृषकलाई बाेयर जातका बाेका वितरण गरिएकाे उहाँले दाेहर्याउनु भयाे । स्थानीय स्तरमा खसीकाे मासुकाे माग बढिरहेकाेले उन्नत जातकाे बाख्रापालनले किसानलाई आत्मनिर्भर बनाउने उहाँकाे भनाइ छ ।
अध्यक्ष जयसवाल भन्छन्, “यहाँका कृषकलाई अघिल्लो वर्ष पनि बाख्रा वितरण गरिएकाे थियो, यसलाई निरन्तर दिइराखेका छौँ, योसँगै कृषकलाई खोप, तालिम तथा परामर्श पनि दिइराखेका छौँ, यहाँ धेर व्यावसायिकरुपमा पशुपालनमा पनि लाग्नुभएको छ, उहाँहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर काम गर्ने प्रयास गरेका छौँ ।”
उहाँले कृषकको जीवनस्तर उकास्नका लागि आधुनिक प्रविधिसँग जोड्न थालेको बताउनुभयो । उहाँले याे क्षेत्र पशुपालनका लागि निकै उपयुक्त ठाउँ रहेको जनाउँदै कृषकलाई प्रशिक्षित बनाउने, अनुदानको व्यवस्था गर्ने र उत्पादनसँग जोड्ने गरी योजना बनाइएकाे जानकारी दिनुभयाे ।







