Share Icon

१६ माघ, काठमाडाैं । बर्दियाको राजापुरमा नगरस्तरीय चौथौ अन्तरविद्यालय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।

राजापुर नगरपालिकाको आयोजनामा सुरु भएको नगरस्तरीय चौथौ अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन साेमबार नगर प्रमुख दिपेश थारुले गर्नुभएकाे हाे ।

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख थारुले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वास्थ्य बनाउन पनि मद्दत गर्ने भएकाले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्त्व भएको बताउनु भयाे ।

उहाँले भन्नुभयाे,’ विद्यार्थीकाे चाैतर्फी विकासकाे लागि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने गरेकाे छ।’


त्यस्तै कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले खेलकुदले विद्यार्थी जीवनमा थप ऊर्जा थप्ने काम गर्ने बताउनु भयाे ।

विद्यार्थीले शैक्षिक स्तरलाई सुधार गर्दै खेलकुदका विभिन्न क्षेत्रमा पनि सहभागी हुनुपर्नेमा नगर प्रमुख थारुले जाेड दिनुभयाे ।

प्रतियोगितामा नगरका संस्थागत र सामुदायिक गरी १९ वटा विद्यालय सहभागी रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख दल बहादुर थारुले बताउनु भयाे ।

उहाँका अनुसार, प्रतियोगिता राजापुरस्थित रहेकाे जयपुर खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा एथ्लेटिक, कबड्डी र भलिबल लगायतका खेल हुने नगरपालिकाले जनाएकाे छ ।

प्रतियोगितामा विजयी हुनेले रनिङ सिल्ड, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने शिक्षा शाखा प्रमुख थारुले बताउनु भयाे ।

त्यस्तै प्रतियोगिताको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी, प्रतिनिधि सभा सदस्य शान्ति चौधरी, लुम्बिनी प्रदेश सभा सदस्य धर्मराज चौधरी, जन्म जय तिमील्सेना, कृष्णा कुस्मा थारु, जिल्ला समन्वय प्रमुख सुर्य बहादुर बिस्टकाे उपस्थिति रहेकाे थियाे ।

त्यस्तै राजनैतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, स्थानीय समजसेवी बुद्धिजिवी, संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थितिमा रहेकाे थियाे । प्रतियोगिता माघ २० गते समापन हुने नगरपालिकाले जनाएकाे छ ।

Facebook Comments Box

Share Icon