हरिनास गाउपालिका वडा नम्बर ३ मा गाईभैंसीमा लम्पी स्किन राेग फैलिएपछि…
काठमाडाैं । स्याङजाकाे हरिनास गाउपालिका वडा नम्बर ३ मा गाईभैंसीमा लम्पी स्किन राेग फैलिएकाे छ ।
वडा अध्यक्ष ओमप्रकाश सिग्देलले वडामा लम्पी स्किन राेग फैलिएकाे जानकारी दिनुभयाे ।
उहाँले नेपालका ३५ भन्दा बढी जिल्लामा महामारीको रुपमा पशु (गाईभैंसी) मा फैलिँदै गएको सरुवा रोग लम्पी स्किनका कारण हरिनास गाउपालिका पनि अछुतो नरहेकाे बताउनु भयाे।
वडा अध्यक्ष सिग्देलले हरिनास गाउपालिका पशु शाखाबाट पशु विशेषज्ञसहित वडा नं ३ का विभिन्न टोलमा प्रभावित कृषकसँग भेटघाट तथा संक्रमित पशु निरिक्षणपछि उपचार गरिएकाे जानकारी दिनुभयाे ।
लम्पी स्किन कस्तो रोग हो?
गाईभैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ।
सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ।
गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ।
सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्छ।
“खासगरी ज्वरो नियन्त्रण गर्न सकिएन त्यस्तो अवस्थामा सङ्क्रमित गाईबस्तु मर्ने गर्छन्।”
यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन्।
त्यस्तै सङ्क्रमित गाईभैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ।







