Share Icon

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधवारदेखि सुरु गर्ने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन हुने बताएको छ ।

मंंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन भएकाले यसलाई ख्यालठट्टा नठान्न आग्रह गरेका हुन् ।

पार्टीको आन्दोलन शान्तिपूर्ण र भद्र हुने बताएका उनले अन्य बेलाको जस्तो सरकार र सत्ता परिवर्तन, महँगी नियन्त्रण जस्तो आन्दोलन नभएको दावी गरे ।

उनले भने–‘यो आन्दोलन सामान्य ख्याल ठट्टाको आन्दोलन होइन । यो सरकार परिवर्तन गर्ने, महँगीको विरोध गर्ने, के–के विरोध गर्ने होइन । हामीले व्यवस्था र अवस्था परिवर्तन गर्ने आन्दोलन हो । सबैले यसमा सोचेर अघि बढ्नुपर्छ । यो आन्दोलन शान्तिपूर्ण आन्दोलन हो । हामीले भद्र आन्दोलन गर्ने हो ।’

कर्यक्रममाम पर्टीका सांसद धवल शमशेर जबराले राज्य पूर्णरुपले असफल भइसकेकाले व्यवस्था परिवर्तनको आन्दोलन सुरु गर्न लागेको बताए । उनले व्यवस्था र व्यवस्था चलाउने पात्रहरुलाई परिवर्तन गर्नको लागि आन्दोलन गरेकाले सोहीअनुसार आन्दोलनका कार्यक्रम अघि बढाउन आग्रह गरे ।

सांसद जबराले आन्दोलन आफूहरुका लक्ष्य प्राप्ति भएपछि मात्रै रोकिने दाबी गरे । उनले पार्टीसँग विचारधारा मिल्ने पार्टी, समूह, अभियन्तालाई समेटेर आन्दोलन अघि बढाउने बताए ।

Facebook Comments Box

Share Icon