Share Icon

६ कार्तिक,काठमाडौं। हेलम्बु गाउँपालिकाको नामाकरण तत्कालिन हेलम्बु गाविस वर्तमान गाउँपालिकाको वडा नम्बर १ सँग जोडिएको छ ।

हेलम्बु भन्नाले एउटा गाउँ मात्र नभएर यसले भेगको प्रतिनिधित्व गर्दछ । साविकको हेलम्बु गाविसको नाम २०४९ सालको निर्वाचन सम्पन्न भएपछि निर्वाचित पहिलो गाविसले नाम परिवर्तन गरेर हेलम्बु राखेको हो । त्यस अघिसम्म तिम्बुघ्याङ्ग्युल गाविस र तार्केघ्याङ पञ्चायत थियो । यसको अर्थ तिम्बु र घ्याङ्ग्युलको नामबाट तिम्बुघ्याङ्ग्युल रहेको अनुमान गर्न सकिन्छ ।

ज्यको पुन संरचनासँगै यहाँका ५ वटा तात्कालिन गाविसहरु क्रमश: हेलम्बु, किउल, पाल्चोक, महाँकाल र इचोकलाई मिलाएर हेलम्बु गाउँपालिकाको निर्माण भएको छ । यो पालिकामा ७ वडाहरु रहेका छन् । पुनसंरचनामा महाँकाल र इचोक दुवै तात्कालिन गाविसलाई २-२ वटा वडामा विभाजन गरिएकाे छ ।

हेलम्बु गाउँपालिकाको उत्तरपूर्वमा पाँचपोखरी थाङपाल गाउँपालिका, पश्चिमतर्फ दुप्चेश्वरी गाउँपालिका, नुवाकोट जिल्ला, उत्तर तर्फ रसुवा जिल्ला दक्षिणतर्फ मेलम्ची नगरपालिका पर्दछ । यस पालिकामा विभिन्न जातिका मानिसहरुको बसोबास रहेता पनि ह्योल्मो जातिको बाहुल्यता छ । सो अलावा शेर्पा, तामाङ, क्षेत्री, बाहुन र दलित समुदाय लगायतका जातिहरु पनि बसोबास गर्छन् । यो पालिकाको नाम ह्योल्मो जातिको पहिचान खुल्ने गरी हेलम्बु गाउँपालिकाको नामाकरण भएको कुरा मान्न सकिन्छ ।

हेलम्बु पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । हिमालको दृश्य, ह्योल्मो, शेर्पा, तामाङ जातिको बसोबास, रहनसहन र रितिरिवाजले बाह्य पर्यटकहरु आकर्षित हुने गरेका छन् । यो क्षेत्र धार्मिक पर्यटकीय स्थल पनि हो । यस ठाउँमा विभिन्न समयमा धार्मिक गुरुहरुले ध्यान गर्ने गरेको र त्यति बेला धार्मिक गुरुहरुले यस क्षेत्रको भ्रमण समेत गरेको किम्बदन्तीहरु पाइन्छ ।

अधिकांश भू-भाग पहाड र सुन्दर डाँडा पाखाले भरिएको यस गाउँपालिका समुन्द्री सतहबाट करिब १००० मिटर को उचाईदेखि उच्च ५००० मिटर सम्मको भू-भाग पर्दछ । हेलम्बु गाउँपालिका सुन्दर शान्त रमणिय जुगल हिमालको सन्निकट याङरीमा डाँडाको काखमा रहेको छ । माथिल्लो भू-भागमा ह्योल्मो र तामाङ जातीको बहुल्यता रहेकाे र तल्लो बेसी भू-भागमा विशेष गरी ब्राम्हण, क्षेत्री, दमाई, कामी र सार्की जातका मानिसहरुको बसोबास रहेको छ ।

हेलम्बु गाउँपालिका-२ का वडा अध्यक्ष पेम्बा लामाले खानेपानीकाे एक घर एक धाराकाे अभियान ७५ प्रतिशत काम सकिएकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अब साेही अभियानकाे २५ प्रतिशत काम पूरा गर्न बाँकी रहेकाे पनि उहाँले जानकारी गराउनुभयाे ।

सामुदायिक विद्यालयहरूकाे शैक्षिक गुणस्तर सुधार उन्मुख हुँदै गएकाे पनि उहाँकाे भनाइ छ। विद्यार्थीकाे संख्या ठिकै रहेकाे बताउँदै उहाँले शिक्षक दरबन्दीकाे भने अभाव रहेकाे बताउनुभयाे । साथै स्वास्थ्य क्षेत्र सुधार उन्मुख रहेकाे बताउँदै उहाँले एम्बुलेन्स र दीर्घ राेगीका बिरामीलाई औषधी गाउँपालिका भरी नै निःशुल्क रूपमा दिने गरिएकाे पनि  जानकारी गराउनुभएकाे हाे ।

सडककाे मर्मत सम्भारकाे काम सकिएकाे र वर्षाकाे समयमा ३ महिना सडकमा सवारी साधन संचालन गर्न कठिनाइ हुने उहाँकाे भनाइ । युवा लक्षित कार्यक्रम अन्तर्गत खेलकुद, युवा स्वराेजगार, युवा राेजगार, सिप विकास सम्बन्धी तालिम  र महिला भ्रमण जस्ता आदि कार्यक्रमहरू रहेकाे उहाँले बताउनुभयाे ।

कृषि क्षेत्रलाई अघि बढाउने याेजना रहेकाे तर बजेट अभावका कारण कठिनाइ भइरहेकाे उहाँकाे तर्क छ।  कृषकलाई अनुदान दिने काम भइरहेकाे पनि उहाँले बताउनुभएकाे हाे । साेही वडाबाट मासिक रूपमा २ देखि ३ जनासम्म युवा वैदेशिक राेजगारीमा जाने गरेकाे पनि उहाँकाे भनाइ छ ।पर्यटन क्षेत्रकाे सम्भावना रहेकाे बताउँदै उहाँले वडाभित्र रहेका गुम्बा र मठ-मन्दिरहरूकाे संरक्षण र व्यवस्थापन गर्दै अघि बढिरहेकाे  बताउनुभयाे ।

 साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे । २४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ।

यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे । नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। साथै जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभयाे। साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर २ लाई पालिकाले ६५ लाख बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे।

अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका ६० प्रतिशत मागलाई ५ वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे अध्यक्ष लामाकाे दावी छ।

Facebook Comments Box

Share Icon