Share Icon

६ कार्तिक, काठमाडौं। पाल्पाको रानीमहलनजिकै आइतबार भएको जीप दुर्घटनाका मृतक ६ जना नै एकै परिवारको भएको खुलेको छ ।

आइतबार साँझ ५ बजेतिर भएको दुर्घटनामा परेर मृत्यु हुनेहरु सबै एकै परिवारका रहेको खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हाे । जीप दुर्घटनामा नवलपरासीका देवचुली नगरपालिका–१६ का रजघराका कृष्णबहादुर लोहनी, सविना धिताल, पार्वती लोहनी, सविस लोहनी, इशव लोहनी र लम्जुङको बेसीशहर नगरपालिका–२ का चुना धितालको मृत्यु भएको पुष्टि भएको प्रहरीकाे भनाइ छ।

घटनामा परी गम्भीर घाइते भएका चालक ईश्वर लोहनी पनि देवचुलीकै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । घाइते लोहनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयाे ।

रानीमहल पुगेर तानसेनतर्फ फर्किएको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बरकाे जीप आइतबार साँझ सडकदेखि तल खोंचमा खसेको थियो ।

Facebook Comments Box

Share Icon