जनताका ७५ प्रतिशत माग ५ वर्षमा पूरा गर्नेछुः वडा अध्यक्ष तामाङ
६ कार्तिक,काठमाडौं। हेलम्बु गाउँपालिकाको नामाकरण तत्कालिन हेलम्बु गाविस वर्तमान गाउँपालिकाको वडा नम्बर १ सँग जोडिएको छ ।
हेलम्बु भन्नाले एउटा गाउँ मात्र नभएर यसले भेगको प्रतिनिधित्व गर्दछ । साविकको हेलम्बु गाविसको नाम २०४९ सालको निर्वाचन सम्पन्न भएपछि निर्वाचित पहिलो गाविसले नाम परिवर्तन गरेर हेलम्बु राखेको हो । त्यस अघिसम्म तिम्बुघ्याङ्ग्युल गाविस र तार्केघ्याङ पञ्चायत थियो । यसको अर्थ तिम्बु र घ्याङ्ग्युलको नामबाट तिम्बुघ्याङ्ग्युल रहेको अनुमान गर्न सकिन्छ ।
ज्यको पुन संरचनासँगै यहाँका ५ वटा तात्कालिन गाविसहरु क्रमश: हेलम्बु, किउल, पाल्चोक, महाँकाल र इचोकलाई मिलाएर हेलम्बु गाउँपालिकाको निर्माण भएको छ । यो पालिकामा ७ वडाहरु रहेका छन् । पुनसंरचनामा महाँकाल र इचोक दुवै तात्कालिन गाविसलाई २-२ वटा वडामा विभाजन गरिएकाे छ ।
हेलम्बु गाउँपालिकाको उत्तरपूर्वमा पाँचपोखरी थाङपाल गाउँपालिका, पश्चिमतर्फ दुप्चेश्वरी गाउँपालिका, नुवाकोट जिल्ला, उत्तर तर्फ रसुवा जिल्ला दक्षिणतर्फ मेलम्ची नगरपालिका पर्दछ । यस पालिकामा विभिन्न जातिका मानिसहरुको बसोबास रहेता पनि ह्योल्मो जातिको बाहुल्यता छ । सो अलावा शेर्पा, तामाङ, क्षेत्री, बाहुन र दलित समुदाय लगायतका जातिहरु पनि बसोबास गर्छन् । यो पालिकाको नाम ह्योल्मो जातिको पहिचान खुल्ने गरी हेलम्बु गाउँपालिकाको नामाकरण भएको कुरा मान्न सकिन्छ ।
हेलम्बु पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । हिमालको दृश्य, ह्योल्मो, शेर्पा, तामाङ जातिको बसोबास, रहनसहन र रितिरिवाजले बाह्य पर्यटकहरु आकर्षित हुने गरेका छन् । यो क्षेत्र धार्मिक पर्यटकीय स्थल पनि हो । यस ठाउँमा विभिन्न समयमा धार्मिक गुरुहरुले ध्यान गर्ने गरेको र त्यति बेला धार्मिक गुरुहरुले यस क्षेत्रको भ्रमण समेत गरेको किम्बदन्तीहरु पाइन्छ ।
अधिकांश भू-भाग पहाड र सुन्दर डाँडा पाखाले भरिएको यस गाउँपालिका समुन्द्री सतहबाट करिब १००० मिटर को उचाईदेखि उच्च ५००० मिटर सम्मको भू-भाग पर्दछ । हेलम्बु गाउँपालिका सुन्दर शान्त रमणिय जुगल हिमालको सन्निकट याङरीमा डाँडाको काखमा रहेको छ । माथिल्लो भू-भागमा ह्योल्मो र तामाङ जातीको बहुल्यता रहेकाे र तल्लो बेसी भू-भागमा विशेष गरी ब्राम्हण, क्षेत्री, दमाई, कामी र सार्की जातका मानिसहरुको बसोबास रहेको छ ।
हेलम्बु गाउँपालिका-५ का वडा अध्यक्ष दिपकुमार तामाङले सामुदायिक विद्यालयहरूकाे शैक्षिक गुणस्तर सुधार उन्मुख रहेकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।विद्यार्थीकाे संख्या न्यून रहेकाे बताउँदै उहाँले शिक्षक दरबन्दीकाे भने अभाव रहेकाे बताउनुभयाे ।
खानेपानीकाे एक घर एक धाराकाे अभियान ७५ प्रतिशत काम सकिएकाे उहाँले बताउनुभएकाे छ। अब साेही अभियानकाे २५ प्रतिशत काम पूरा गर्न बाँकी रहेकाे पनि उहाँले जानकारी गराउनुभयाे ।कृषि क्षेत्रमा कृषकलालाई अनुदान दिने व्यवस्था गरिएकाे बताउँदै उहाँले त्यसकाे प्रतिफल भने नदेखिएकाे बताउनुभएकाे छ ।
त्यस्तै, वर्षाका कारण बिग्रिएका स्थानमा सडककाे मर्मत सम्भारकाे काम भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । साथै पहिराेकाे जाेखिम स्थानका धेरै बस्तीकाे स्तान्तरणकाे लागि काम भइरहेकाे पनि उहाँले बताउनुभएकाे छ। युवा लक्षित कार्यक्रमहरू पनि संचालनमा रहेकाे उहाँले बताउनुभयाे ।
पर्यटनकाे सम्भावना रहेकाे बताउँदै उहाँले वडामा रहेका गुम्बा र मठ-मन्दिरहरूकाे संरक्षण-व्यवस्थापन गर्दै पर्यटकीय क्षेत्र बनाउने याेजना भइरहेकाे बताउनुभएकाे हाे । त्यस्तै, विद्युतकाे सन्दर्भमा यहाँ चट्याङका कारण समस्या भएकाे उहाँकाे भनाइ छ। यहाँ केन्द्रीय लाइन र शाखा लाइनबाट विद्युत वितरण भएकाे र चट्याङबाट सुरक्षित रहनका लागि कालाे तारकाे व्यवस्थापन गर्ने याेजना रहेकाे उहाँले जानकारी गराउनुभएकाे हाे ।
साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे । २४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ।
यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे। नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। साथै जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभयाे। साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ५ लाई पालिकाले ५० लाख बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे।
अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका ७५ प्रतिशत मागलाई ५ वर्षभित्रमा पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे अध्यक्ष तामाङकाे दावी छ।