बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै
१७ वैशाख,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ । बनेपामा आउँदो बिहीबारदेखि चण्डेश्वरी जात्रा सुरु हुने भएको हो । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिङ्गारिन्छ । तीन दिनसम्म मानिने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । बनेपालीका लागि यो जात्रा महान् पर्व दशैँजस्तै लाग्ने गर्दछ । हालका दिनमा जात्रा व्यवस्थापन समिति र स्थानीय जात्राको तयारीमा जुटेका छन् ।…
