शनिबार पशुपतिनाथ क्षेत्रमा विशेष सरसफाइ

Share Icon

२६ फागुन,काठमाडौँ । राष्ट्रदेव भगवान् पशुपतिनाथ मन्दिर क्षेत्रमा भोलिदेखि हरेक शनिबार सरसफाइ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्रालय मातहतका २१ निकायका कर्मचारीले हरेक शनिबार दुई घण्टा पशुतिनाथ क्षेत्रमा सरसफाइ गर्ने तयारी गरेको छ ।

उक्त सरसफाइ अभियान तीन महिनासम्म सञ्चालन हुने जनाइएको छ । पशुपति क्षेत्र विकास कोषले मात्रै नियमित सफाइ गर्न नसकेपछि मन्त्रालयको निर्देशनमा हरेक शनिबार दुई घण्टा कर्मचारीले सरसफाइ गर्ने तयारी गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालय र मातहतका २१ वटा निकायका पदाधिकारी र कर्मचारीबाट हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म बृहत् सरसफाइ कार्यक्रम गर्ने निर्णय भएको छ ।

कर्मचारीसहितको उक्त सामूहिक सरसफाइमा पशुपति क्षेत्र विकास कोषले सरसफाइमा प्रयोग हुने सरसामग्री उपलब्ध गराउनुपर्ने मन्त्रालयले निर्देशन दिएको पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिनुभयो । मन्त्रालयले सचिवस्तरीय निर्णयबाट सबै निकायलाई सरसफाइमा सहभागिताका लागि निर्देशनसमेत दिएको बताइएको छ ।

उक्त सरसफाइ अभियानमा हरेक शनिबार बिहान पशुपति सरसफाइमा पर्यटन विभाग, पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय, भाषा आयोग, प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र सांस्कृतिक संस्थानका पदाधिकारी र कर्मचारी सहभागी हुने बताइएको छ ।

यसैगरी पर्यटन बोर्ड, हनुमानढोका दरबार सङ्ग्राहलय हेरचाह विकास समिति, पाटन दरबार सङ्ग्रहालय हेरचाह विकास समिति, नेपाल पर्यटन तथा होटल व्यवस्थान प्रतिष्ठान, नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति, तारागाउँ विकास समिति, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारी र कर्मचारीसमेत सहभागी हुने भएका छन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.