Share Icon

११ असाेज,काठमाडौं । काठमाडौं महानगरपालिकाले जवाफदेहीताको माग राखेर ९ दिनदेखि आन्दोलनमा रहेका सामाजिक अभियन्ता ईःसँग चार बुँदे सहमति गरेको छ ।

बुधबार बेलुका सहमति भएसँगै अभियन्ता ईः ले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । काठमाडौं महानगरपालिकाले फुटपाथ तथा सडक व्यवसायीलाई निश्चित समय तोकेर व्यापार गर्न दिनुपर्ने मुख्य माग ईः को थियो । सोही माग राखेर अभियन्ता ईः ले १ सय ९९ घण्टा महानगरको गेटमा उभिएर शान्तिपूर्ण विरोध गरेका थिए ।

सहमतिअनुसार कानूनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थल पहिचान गरेर फुटपाथ र सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न महानगरले एक हप्ताभित्र पहल गर्नेछ । यसैगरी फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई फिर्ता गरिनेछ ।

अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्थासमेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव सहित अध्ययन गरी दुई महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्न आठ सदस्यीय समिति गठन गरिने भएको छ ।

उक्त समितिमा महानगरपालिकाले तोकेका तीन जना, अभियन्ता ईः का तर्फबाट दुई जना, भौतिक पूर्वाधार मन्त्रालयका तर्फबाट एक जना, सहरी विकास मन्त्रालयका तर्फबाट एकजा र ट्राफिक प्रहरीको तर्फबाट एक जना प्रतिनिधि रहने भएका छन् ।

Facebook Comments Box

Share Icon