Share Icon

१ चैत,चौतारा । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाभित्रका सबै कच्ची सडक स्तरोन्नति गर्न थालिएको छ । वडा नं १ देखि ७ सम्मका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडासहित स्तरोन्नति गर्न थालिएको हो ।

उक्त सडकखण्डमा बाह्र महिनानै यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक स्तरोन्नति लागि पालिकाले एक्साभेटर अपरेटर नियुक्त गर्नाका साथै इन्धनको प्रबन्ध गरी काम अगाडि बढाएको छ । सडकका साथै नाला र आसपासका अन्य भौतिक संरचना पनि निर्माण भइरहेका छन् ।

पालिकाभित्रका सडकको वर्गीकरण गरेर सङ्घ, प्रदेश र स्थानीय सरकारले स्तरोन्नति गर्ने अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।

आगामी पाँच वर्षभित्र पालिकाभित्रका सबै सडक स्तरोन्नति गरिसक्ने उहाँको भनाइ छ । “सडक चौडा, नाला निर्माणलगायत काममा के–कति खर्च लाग्छ,सबै जनताका अघि पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्छ”, वडा नं ६ का पूर्ववडाध्यक्ष रामकुमार थापाले भन्नुभयो ।

सडक विस्तारः हिउँदमा धुलो बर्खामा हिलो

सिन्धुपाल्चोकको बलेफी जलविरे ढाडेअन्तर्गत सडक निर्माणका क्रममा हिलो र धुलो अत्यधिक हुँदा स्थानीयवासीले सास्ती भोग्दै आएका छन् ।

हिलोका कारण दुर्घटना र धुलोका कारण स्वास्थ्यमा असर परिरहेको स्थानीयवासीको भनाइ छ । धुलोका कारण घाँटी दुख्ने, रुघाखोकी र सास फेर्न गाह्रो हुने समस्या बढ्दै गएको छ ।

स्थानीय देवीमाया नेपालले धुलोका कारण स्वास्थ्यमा असर पर्नुका साथै वातावरण समेत प्रदूषित हुँदै गएको बताउनुभयो । “हिउँदको समयमा पनि सडक कतै हिलाम्मे र कतै धुलाम्मे छ ।

सडक आसपास बसोबास गर्ने तथा पैदलयात्री, र मोटरसाइकलमा यात्रा गर्नेलाई निकै सास्ती हुने गरेको छ”, उहाँले भन्नुभयो ।

स्थानीय भीमबहादुर विकले अत्यधिक धुलोका कारण यात्रा गर्न समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक यात्रा गर्न समस्या छ, निर्माणकार्य सुस्त गतिमा भइरहेकाले पनि अत्यधिक धुलो भएको हो ।” यतिबेला सडक विस्तारका साथै वरपर नाली मर्मत तथा भित्ता उठाउने काम भइरहेको छ ।

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी अनक कविर जेभी कन्ट्रक्सन प्रालिका प्रतिनिधि गोरेबहादुर तामाङ करिब ९५ प्रतिशत काम सकिएको बताउनुभयो ।

Facebook Comments Box

Share Icon