Share Icon

४ फागुन,काठमाडौँ । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ ।

श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिनुभयो ।

उहाँको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लैजान लागिएको हो । हिजो राति घाइते हुनुभएका नेता डा भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उहाँको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो ।

निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।

Facebook Comments Box

Share Icon