Share Icon

३ माघ,काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गर्नुभएको छ । आज मात्रै मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री भण्डारीले कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

उहाँले पुस १० मा विनाविभागीय मन्त्रीको शपथ लिनुभएको थियो । मन्त्रालयमा उहाँलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनी स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थानका प्रमुखहरुको सहभागिता थियो ।

पदभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम गर्ने वातावरण बनाउने गरी उद्योगहरुको विकास गर्न आफूले काम गर्ने बताउनुभयो । यसका लागि अहिले भएका नीतिगत समस्यालाई छिट्टै किनारा लगाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

सरकारले ल्याएको २१ बुँदे साझा कार्यक्रममा समेटिएका विषयलाई पूरा गर्न मन्त्रालय केन्द्रित हुने उहाँको भनाइ छ । यसका लागि रुग्ण उद्योगको पुनस्र्थापना र साना तथा मझौला उद्योगको प्रवद्र्वनमा ध्यान दिइने उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा धेरै बोल्नेभन्दा पनि नतिजा निकाल्ने गरी काम गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।

आजको पहिलो निर्णयसँगै उक्त नीतिको मस्यौदा अब प्रदेश सरकारका सम्बद्व मन्त्रालयहरुमा सुझावका लागि पठाइनेछ । प्रदेशहरुबाट प्राप्त सुझावलाई समेटेपछि नीतिले अन्तिम रुप दिइने मन्त्रालयले जनाएको छ ।

पाटन नगरपालिका–६ बैतडीका मन्त्री भण्डारी २०३० कात्तिक २० मा उदयसिंह भण्डारी र कमला भण्डारीको सुपुत्रका रुपमा जन्मनुभएको हो । स्नातकसम्म अध्ययन गर्नुभएका उहाँको रुचिको क्षेत्र अर्थतन्त्र हो । विसं २०४६ को जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा आबद्ध हुनुभएका भण्डारी २०५० सालमा अनेरास्ववियु बैतडीको जिल्ला अध्यक्ष बन्नुभएको थियो ।

त्यस्तै, विसं २०५० सालमा तत्कालीन नेकपा (एमाले)को जिल्ला कमिटी सदस्य, २०५४ सालमा जिल्ला उपसचिव हुँदै बैतडीको अध्यक्षसमेत हुनुभयो । विसं २०७० मा संविधानसभा सदस्यका रुपमा बैतडी १ बाट निर्वाचित हुनुभएका उहाँले विभिन्न भूमिकामा कार्यसम्पादन गर्नुभएको छ । मन्त्री भण्डारी २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने विसं २०७३ मा अर्थराज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

उहाँ राजनीतिक आन्दोलनका क्रममा पटक-पटक प्रहरी हिरासतमा पर्नुभएको छ । मुलुकको अर्थतन्त्र बलियो भएमात्र विकास हुने धारणा राख्नुहुने मन्त्री भण्डारीले संविधान निर्माणमा भूमिका खेलेबापत संविधानसभा पदक प्राप्त गर्नुभएको छ ।

Facebook Comments Box

Share Icon