Share Icon

३ माघ,लम्की । कैलालीको लम्कीचुहा–६ वावनपुरका एक युवकको भारतको महाराष्ट्रमा हत्या भएको छ । रोजगारीको सिलसिलामा भारत महाराष्ट्रको आलिबागमा बस्दै आउनुभएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरुले हत्या गरेको आशङ्का गरिएको मृतककी आमा पार्वती कामीले बताउनुभयो ।

गत पुस २६ गते रोजगारीको सिलसिलामा भारतको आलिबागमा रहेका छोराको बीभत्स हत्या गरिएको भन्दै आमा उहाँले वावनपुर घर भई आलिबागमा बस्दै आएका सागर विक, टोपु विक, मनोज विक र सन्तोष बादीको नाममा किटानी जाहेरी दिनाका साथै यही माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग ठाना प्रहरीमा पनि उजुरी दिएको बताउनुभयो । हत्यामा संलग्न टोपु विक र मनोज विक सहोदर दाजुभाइ हुन् ।

छोराको मृत्युको खबर सुनेपछि गत पुस २७ गते नेपालबाट आफू भारत गएको र हत्या नै भएको पुष्टि भएपछि किटानी जाहेरी दिएको पार्वतीले जनाउनुुभयोे । उहाँले भन्नुभयो, “छोरासँगै होटेलमा काम गर्ने नातामा मामा पर्ने सागर विकले छोराको हत्या भएको जानकारी दिएपछि हामीले थाहा पायौँ । केही समयपछि सामाजिक सञ्जालमा छोराको फोटा र भिडियो पनि बाहिरिएको थियो । फोटा र भिडियोमा पनि प्रस्टरुपमा हत्या भएको देखियो । घटनापछि भारतमा पुग्दा र घटनास्थलमा बुझ्दा नेपाल घरमा फोन गरेर हत्या भएको जानकारी दिने सागर विक नै हत्यामा संलग्न रहेको पाइयो ।”

Facebook Comments Box

Share Icon