अमेरिकी पूर्वउपराष्ट्रपति पेन्सद्वारा राष्ट्रपतीय निर्वाचनका लागि दिएकाे उम्मेदवारी फिर्ता
एजेन्सी । अमेरिकी पूर्वउपराष्ट्रपति माइक पेन्स आगामी सन् २०२४ को राष्ट्रपतीय निर्वाचनबाट पछि हट्नुभएकाे छ। पेन्स आगामी राष्ट्रपतीय निर्वाचनको दौडबाट बाहिरिनुभएकाे हाे ।
शनिबार लस भेगासमा रिपब्लिकन यहुदी धार्मिक मोर्चाको कार्यक्रममा पेन्सले आगामी २०२४ को राष्ट्रप्रतीय निर्वाचनको प्रतिस्पर्धाबाट पछि हटेको घोषणा गर्नुभएकाे हाे।पेन्सले यतिखेर आफ्ना लागि उपयुक्त समय नरहेको जिकिर गर्दै उम्मेदवारी घोषणा फिर्ता गर्नुभएकाे हाे । यो एक गम्भीर युद्ध हुने थाहा भए पनि यतिखेर आफूलाई कुनै पछुतो नरहेको पनि उहाँकाे भनाइ छ।
पेन्सले आफ्ना समर्थकहरूलाई सम्बोधन गरेको विज्ञप्तिमा आफूले यो अभियान छाडेपनि परम्परागत मूल्यमान्यताको लडाइ भने जारी नै राख्ने अठोट व्यक्त गर्नुभएकाे छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसहित आगामी नेतृत्वका लागि दह्रो रुपमा लागिरहेका मध्ये पेन्स अभियान स्थगित गर्ने पहिलो मुख्य रिपब्लिकन उम्मेदवार हुनुहुन्थ्याे।