विजया दशमीको अवसरमा प्रधानमन्त्री दाहालले दिए शुभकामना
७ कार्तिक,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विजया दशमीको अवसरमा मंगलबार शुभकामना व्यक्त गर्नुभएको छ ।
मंगलबार शुभकामना सन्देश जारी गर्दै दिंदै उहाँले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताउनुभएको छ। सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गरेको ऐक्यवद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति महत्वपूर्ण रहेको समेत उहाँले बताउनुभयो ।
जात, वर्ग, धर्म लिङ्ग, वर्ण, भूगोल, आस्था र सम्प्रदायको सोचबाट माथि उठेर मुलुकको विकासमा लाग्न उहाँले सबैसँग आग्रह गर्नुभएको छ । विकास निर्माणमा देखा पर्ने परम्परागत शैली, संरचना ,प्रणालीको अवरोधलाई दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर छिचोल्न सकिने जारी शुभकामना सन्देशमा भनिएकाे छ।
नेपाली जनताले युगौंदेखि साच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न ढृढतापूर्वक अघि बढ्ने प्रधानमन्त्री दाहालले बताउनुभयो । राष्ट्रसामु विद्यमान चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाउन समेत प्रधानमन्त्री दाहालले आह्वान गुर्नभयो ।