बडादशैंकाे नवौं दिन आज दुर्गा भवानीको पूजा गरिंदै
६ कार्तिक,काठमाडौं। बडादशैंकाे नवौं दिन महानवमी पर्व साेमबार भगवती दुर्गाको नवौँ रूप सिद्धीदात्रीको पूजा गरिंदैछ।
महानवमीमा दुर्गाको पूजा गरेपछि घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । यस दिन पनि शक्तिपीठ तथा दशैंघरमा पशुबली दिने गरिन्छ । महाअष्टमीको राति गरिएको कालरात्रिको पूजा पूर्ण गर्नका लागि महानवमीमा हवन गर्ने विधि छ । खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ । आजको दिनसम्म शक्तिपीठहरुको दर्शन गर्ने गरिन्छ ।
महानवमीमा तलेजुको मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ । नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ । देवीका तीन रूपमध्ये महाकालीलाई शक्ति, महालक्ष्मीलाई श्री र महासरस्वतीलाई विद्याकी देवी मानिएको छ ।
दशैंको नौ दिनसम्मको नवरात्र अनुष्ठान महानवमीमा सम्पन्न गरिन्छ भने नवदुर्गाको प्रसाद दशमीका दिन लगाइन्छ । महानवमीको दिन आफू चढ्ने सवारीसाधनको पनि पूजा गर्ने चलन छ । महानवमी साेही अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन समेत रहेकाे छ ।
प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बली दिइने चलन रहेकाे छ ।