सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर व्यापक रूपमा सुधार गर्ने याेजनामा छुः वडा अध्यक्ष तामाङ

Share Icon

५ कार्तिक,काठमाडौं। हेलम्बु गाउँपालिकाको नामाकरण तत्कालिन हेलम्बु गाविस वर्तमान गाउँपालिकाको वडा नम्बर १ सँग जोडिएको छ ।

हेलम्बु भन्नाले एउटा गाउँ मात्र नभएर यसले भेगको प्रतिनिधित्व गर्दछ । साविकको हेलम्बु गाविसको नाम २०४९ सालको निर्वाचन सम्पन्न भएपछि निर्वाचित पहिलो गाविसले नाम परिवर्तन गरेर हेलम्बु राखेको हो । त्यस अघिसम्म तिम्बुघ्याङ्ग्युल गाविस र तार्केघ्याङ पञ्चायत थियो । यसको अर्थ तिम्बु र घ्याङ्ग्युलको नामबाट तिम्बुघ्याङ्ग्युल रहेको अनुमान गर्न सकिन्छ ।

ज्यको पुन संरचनासँगै यहाँका ५ वटा तात्कालिन गाविसहरु क्रमश: हेलम्बु, किउल, पाल्चोक, महाँकाल र इचोकलाई मिलाएर हेलम्बु गाउँपालिकाको निर्माण भएको छ । यो पालिकामा ७ वडाहरु रहेका छन् । पुनसंरचनामा महाँकाल र इचोक दुवै तात्कालिन गाविसलाई २-२ वटा वडामा विभाजन गरिएकाे छ ।

हेलम्बु गाउँपालिकाको उत्तर पूर्वमा पाँचपोखरी थाङपाल गाउँपालिका, पश्चिमतर्फ दुप्चेश्वरी गाउँपालिका, नुवाकोट जिल्ला, उत्तर तर्फ रसुवा जिल्ला दक्षिणतर्फ मेलम्ची नगरपालिका पर्दछ । यस पालिकामा विभिन्न जातिका मानिसहरुको बसोबास रहेता पनि ह्योल्मो जातिको बाहुल्यता छ । सो अलावा शेर्पा, तामाङ, क्षेत्री, बाहुन र दलित समुदाय लगायतका जातिहरु पनि बसोबास गर्छन् । यो पालिकाको नाम ह्योल्मो जातिको पहिचान खुल्ने गरी हेलम्बु गाउँपालिकाको नामाकरण भएको कुरा मान्न सकिन्छ ।

हेलम्बु पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । हिमालको दृश्य, ह्योल्मो, शेर्पा, तामाङ जातिको बसोबास, रहनसहन र रितिरिवाजले बाह्य पर्यटकहरु आकर्षित हुने गरेका छन् । यो क्षेत्र धार्मिक पर्यटकीय स्थल पनि हो । यस ठाउँमा विभिन्न समयमा धार्मिक गुरुहरुले ध्यान गर्ने गरेको र त्यति बेला धार्मिक गुरुहरुले यस क्षेत्रको भ्रमण समेत गरेको किम्बदन्तीहरु पाइन्छ ।

अधिकांश भू-भाग पहाड र सुन्दर डाँडा पाखाले भरिएको यस गाउँपालिका समुन्द्री सतहबाट करिब १००० मिटर को उचाईदेखि उच्च ५००० मिटर सम्मको भू-भाग पर्दछ । हेलम्बु गाउँपालिका सुन्दर शान्त रमणिय जुगल हिमालको सन्निकट याङरीमा डाँडाको काखमा रहेको छ । माथिल्लो भू-भागमा ह्योल्मो र तामाङ जातीको बहुल्यता रहेकाे र तल्लो बेसी भू-भागमा विशेष गरी ब्राम्हण, क्षेत्री, दमाई, कामी र सार्की जातका मानिसहरुको बसोबास रहेको छ ।

हेलम्बु गाउँपालिका-४ का वडा अध्यक्ष बुद्धिमान तामाङले सामुदायिक विद्यालयहरूकाे शैक्षिक गुणस्तर व्यापक रूपमा सुधार गर्ने याेजना रहेकाे बताउनुभएकाे छ। वडा खबरसँग कु्रा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । पहिला ३ वटा विद्यालयमा १२ कक्षासम्म पढाइ भएकाे तर शिक्षक दरबन्दीकाे अभावले अहिले भने एउटै विद्यालयमा १२ कक्षासम्म पढाइ संचालन गर्नुपरेकाे उहाँले बताउनुभएकाे छ। हाल करार शिक्षक राखेर पढाइ भइरहेकाे उहाँकाे भनाइ छ। 

साथै सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि एकीकृत सिकाई केन्द्र समेत संचालन गरिएकाे उहाँकाे भनाइ छ । साेही सिकाईमा कक्षा १२ र स्नातक तहसम्म गाउँपालिकाले नै निःशुल्क रूपमा पढाउने पनि उहाँले जानकारी गराउनुभएकाे हाे । 

मुख्य सडकमा वर्षाकाे समयमा सवारी साधन संचालन नहुने उहाँले बताउनुभयाे । तर वडाभित्रका सडकमा भने बाह्रै महिना सवारी साधन संचालन भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । साथै खानेपानीकाे एक घर एक धाराकाे अभियान यसै वर्षभित्र सम्पन्न हुने बताउनुभएकाे छ।

वडामा हाल स्वास्थ्य प्राथमिक चाैकीबाट बिरामीकाे उपचार भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । साथै प्राथमिक स्वास्थ्य चाैकीबाट टाेल-टाेलमा स्वास्थ्यकर्मी खटाएर समेत बिरामीकाे उपचार गरिएकाे पनि उहाँले जानकारी गराउनुभयाे । युवा लक्षित कार्यक्रम अन्तर्गत युवा खेलाडीलाई बीमा गर्ने, प्राेत्साहन गर्ने र उनीहरूलाई ५ लाख रूपैयाँ सहयाेग स्वरूप दिने गरिएकाे उहाँकाे भनाइ छ। 

साथै कृषि क्षेत्रलाई अघि बढाउने याेजना संचालन भएकाे उहाँले बताउनुभयाे । जस अन्तर्गत एक घर एक टनेल, कृषि फारम र सामूहिक कृषि फारममा अनुदानकाे व्यवस्था गरिएकाे पनि उहाँले जानकारी गराउनुभयाे । साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे । २४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ।

यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे । नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। साथै जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभयाे। साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ४ लाई पालिकाले १ कराेड ५० लाख बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे।

अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे अध्यक्ष तामाङकाे दावी छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.