Share Icon

५ कार्तिक, काठमाडौं। नेपाल विश्व मानचित्रमा सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित शान्ति क्षेत्रको रुपमा चर्चित मुलुक हो ।

प्राकृतिक सम्पदाको रुपमा रहेको जलश्रोतमा विश्वकै ब्राजिल पछाडीको दोस्रो धनी राष्ट्रका रुपमा सुपरिचित छ । गौतम बुद्ध, अरनिको, सीता आदि विभूतिहरुले जन्म लिएको पवित्र पावन भूमि, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा रुपान्तरित कृषि प्रधान देश हो ।

नेपालको बदलिंदो राजनैतिक परिवर्तन पश्चात संघीय मुलुकमा रुपान्तरित भई बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुपाल्चोक जिल्ला उत्तरतर्फ पर्ने चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम काउण्टि अन्तर्गत खासा नजिक रहेको पर्यटन तथा धार्मिक, साँस्कृतिक दृष्टिकोणले पवित्र पावन भूमिको रुपमा यस क्षेत्र रहेको छ । सिन्धुपाल्चोक जिल्लाका ९ वटा गाउँपालिका र ३ वटा नगरपालिका मध्यको भोटेकोशी गाउँपालिका एक हो ।

भोटेकोशी बागमती प्रदेश नेपालको उत्तरी क्षेत्रको सिन्धुपाल्चोक जिल्लाको हिमाली गाउँपालिका अन्तर्गत पर्दछ । शिल्पकार अरनिको ई.सं. १२६० मा तिब्बतको ल्हासा चीनको राजधानी बेइजिङ जाँदा यही बाटो भएर गएकाले काठमाडाैंदेखि कोदारी सम्मको मोटरबाटोलाई निजकै सम्मानमा अरनिको राजमार्ग राखिएको हो । अंशुबर्माको छोरी भृकुटी तिब्बत जाँदा यही बाटो भएर गएकी थिइन् । कैलाश मानसरोवर जाने पर्यटकहरु यही बाटो भएर जाने गर्दछन् । भोटेकोशी गाउँपालिका समुद्र सतह देखि १५ सय मिटर उचाईमा पर्दछ ।

गाउँपालिकाको कुल क्षेत्रफल २७८.३१ वर्ग किलाेमिटर रहेको छ । यसको पूर्वमा दोलखा, गौरीशंकर गाउँपालिका र चीन पर्दछ । पश्चिममा बाह्रबिसे नगरपालिका र जुगल गा.पा., उत्तरमा चीन, दक्षिणमा बाह्रबिसे नगरपालिका पर्दछ । भोटेकोशी गाउँपालिका साविकको गा.वि.स. लिस्तीकोट, तातोपानी, फुल्पिङकट्टी र मार्मिङ मिलाएर हाल ५ वडामा विभाजित छ । यस भोटेकोशी गाउँपालिकामा करिब ४ हजार ४ सय २९ घरधुरीमा कुल जनसंख्या १७ हजार १ सय ५६ रहेको छ ।

भाेटेकाेशी गाउँपालिका-४ का वडा अध्यक्ष टासी शेर्पाले खानेपानीकाे एक घर एक धाराकाे अभियान यसै वर्षभित्र सम्पन्न हुने बताउनुभएकाे छ । वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । साथै सडक मर्मत सम्भारकाे काम भइरहेकाे पनि उहाँले बताउनुभएकाे छ। वर्षाका कारण २ ठाउँमा सडक बिग्रिएकाे बताउँदै सडक स्तरउन्नतिका लागि ४ कराेड बजेट विनियाेजन गरिएकाे उहाँकाे भनाइ छ। सडकमा बाह्रै महिना सवारी साधन संचालन भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे ।

सामुदायिक विद्यालय सुधार उन्मुख रहेकाे उहाँले बताउनुभयाे। यस वडामा ६ वटा सामुदायिक विद्यालय मध्ये २ वटा मावि रहेकाे बताउँदै उहाँले शिक्षक दरबन्दीकाे अभाव रहेकाे बताउनुभएकाे हाे ।वडामा हाल स्वास्थ्य प्राथमिक चाैकीबाट बिरामीकाे उपचार भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । साथै बर्थिङ सेन्टर अस्पताल पनि तयारी अवस्थामा रहेकाे उहाँकाे भनाइ छ। 

पर्यटन क्षेत्रलाई अघि बढाउने याेजना रहेकाे पनि उहाँले बताउनुभयाे । नारायण मन्दिर, नाङदेन खप्पर, तेन्जेबेले सेतीदेवी मन्दिर, गुरू रिम्बुके-सेफची इतिहासकाे भवन बनिरहेकाे र साेही स्थानमा माेटरबाटाे पनि बनिरहेकाे उहाँले जानकारी गराउनुभयाे । सबै काम पूरा भएपछि पर्यटकीय क्षेत्रकाे रूपमा विकास गर्ने उहाँकाे तर्क छ। वडा कार्यालयदेखि नारायण मन्दिरसम्म सडक कालाेपत्रे र देउढुंगासम्म  माेटरबाटाे  पुर्याउने याेजना भइरहेकाे उहाँकाे भनाइ छ।

यस वर्ष कृषि क्षेत्रमा बजेट विनियाेजन नगरिएकाे पनि उहाँले बताउनुभएकाे छ । यहाँका कृषक चाैरी गाईपालन, भेडा- बाख्रापालन र तरकारी खेती बढी मात्रमा गर्ने उहाँकाे भनाइ छ । शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे । २४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ।

यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे । नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। साथै जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभयाे। साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ४ लाई पालिकाले ८१ लाख बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे।

अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे अध्यक्ष शेर्पाकाे दावी छ।

Facebook Comments Box

Share Icon