सबै राजनीतिक दल र जनता एक जुट भए मात्र विकास निर्माण सम्भव हुन्छः अध्यक्ष मगर

Share Icon

१५ असाेज, काठमाडाैं । नेपाल सरकारले साविकका ३ ओटा गाविसहरु (धुपु, बाह्रबिसे र सभापोखरी) लाई गाभेर मिति २०७३ साल फागुन २७ गते सभापोखरी गाउँपालिकाको पुनःसंरचना गरेको छ ।

गाउँपालिका बन्नु अघि छुट्टा-छुट्टै विशेषता बोकेका धुपु, बाह्रबिसे र सभापोखरी गाविसलाई मिलाएर प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सभापोखरीलाई आधार मानि यस गाउँपालिकाको नाम सभापोखरी गाउँपालिका नामाकरण गरिएको हो । प्राचीनकालमा ब्यास पुत्र शुकदेव आई शौनकादि ऋषिहरुलाई पुराण सुनाईसकेर सभा गरेको हुँदा त्यहीँबाट नै सभापोखरी नाम रहन गएको जनश्रुति छ ।

अर्को किम्बदन्ति अनुसार पृथ्वीमा दैत्यहरुले गर्ने विनाश रोक्न देवताहरुले यहाँ सभा बसी योजना बनाएका थिए । सभाखोलाको उद्गमस्थलको रुपमा रहेको यो पोखरी धार्मिक, पर्यटकीय, सौन्दर्य तथा जैविक विविधता बोकेको क्षेत्र समेत हो । गाउँपालिकाको नाम सभापोखरी रहेतापनि यहाँको बाह्रबिसे बजार ऐतिहासिक रुपले उत्तिकै महत्व बोकेको पुरानो ब्यापारिक केन्द्रको रूपमा रहेको छ ।

सभापोखरी गाउँपालिका संखुवासभा जिल्लाको उत्तर पूर्व क्षेत्रमा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा ताप्लेजुङ जिल्ला, पश्चिममा खाँदबारी नगरपालिका र चिचिला गाउँपालिका, उत्तरमा मकालु गाउँपालिका पर्दछन् भने दक्षिणमा पाँचखपन नगरपालिका रहेको छ ।

यस सभापोखरी गाउँपालिकामा साविकको धुपु गाविसका १-४ वडालाई वडा नं. १, साविक धुपु गाविसका ५-९ वडालाई वडा नं.-२, साविक बाह्रबिसे गाविसका १-६ वडालाई वडा नं.-३, बाह्रबिसे गाविसका ७-९ वडालाई वडा नं.- ४, साविक सभापोखरी गाविसका ७-९ वडालाई वडा नं.-५ तथा सभापोखरी गाविसका १-६ वडालाई वडा नं.- ६ कायम गरिएको छ । गाउँपालिकाको राजनैतिक प्रशासनिक विभाजनलाई तलको तालिकामा स्पष्ट रुपमा प्रस्तुत गरिएको छ ।

कुल क्षेत्रफल २२२.०८ वर्ग किलाेमिटर रहेकाे छ। साथै कुल घरधुरी- (२०७८) मा २ हजार ५ सय ७ रहेकाे छ। त्यस्तै,कुल जनसंख्या- (२०७८) मा ९ हजार ९ सय ७० रहेकाे छ ।

सभापोखरी गाउँपालिका-१ का वडा अध्यक्ष इश्वर पुलामी मगरले सुरक्षा व्यवस्थालाई प्रभावकारी ढंगले अघि बढाउने याेजना रहेकाे बताउनुभएकाे छ । युवालाई विदेश जानबाट राेक्नका लागि दूध संकलन गर्ने चिस्यान केन्द्रकाे स्थापना भएकाे पनि उहाँले बताउनुभएकाे हाे ।

खानेपानीको समस्यालाई कोरियन र नेपाल रेडक्रस सोसाइटीसँगको साझेदारीमा पूर्ण रूपले समाधान गर्ने पनि उहाँले बताउनुभयाे । साथै समग्र रूपमा  शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि सहज रूपमा नै काम भइरहेको पनि उहाँले बताउनुभयो ।अब ३ वर्षभित्रमा खानेपानीकाे समस्या पनि समाधान गर्ने उहाँकाे दावी छ ।

यस वडामा दूध र तेलकाे उत्पादनमा आत्मनिर्भर गर्ने लक्ष्य रहेकाे उहाँले बताउनुभयाे । तीव्र गतिमा विकास गर्नका लागि सबै जनता राजनीतिक दल र जनप्रतिनिधि मिलेर मात्र सम्भव हुने पनि उहाँले बताउनुभयाे। खिचातानी र लखेट्ने प्रवृत्तिले विकासको गतिमा ह्रास आउने पनि उहाँकाे भनाइ छ।

सडक बाह्रै महिना संचालन भएकाे  र यस वडालाई बजारीकरण गर्नका लागि सडकमा सडक बत्तीकाे राख्ने याेजना रहेकाे पनि उहाँले बताउनुभयाे । कृषि क्षेत्रमा आधुनिक तरिकाले खेती गर्न सुरू गरिएकाे पनि अध्यक्ष मगरले बताउनुभयाे ।

पर्यटन क्षेत्रलाई व्यवस्थित रूपमा अगाडि बढाउने पहल भइरहेकाे पनि उहाँले बताउनुभयाे । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रशासन, व्यवस्थापन समिति,अविभावक र स्थानीय सरकार निरन्तर एक भएर अघि बढ्नु पर्ने उहाँकाे तर्क छ। आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर १ लाई पालिकाले ५० लाखको बजेट सिलिङ गरेको उहाँले बताउनुभयो ।

अन्त्यमा जनताकाेबीचमा गरेका प्रतिवद्धता सबै पूरा गर्ने अध्यक्ष मगरकाे दावी छ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.