सबै राजनीतिक दल र जनता एक जुट भए मात्र विकास निर्माण सम्भव हुन्छः अध्यक्ष मगर

१५ असाेज, काठमाडाैं । नेपाल सरकारले साविकका ३ ओटा गाविसहरु (धुपु, बाह्रबिसे र सभापोखरी) लाई गाभेर मिति २०७३ साल फागुन २७ गते सभापोखरी गाउँपालिकाको पुनःसंरचना गरेको छ ।
गाउँपालिका बन्नु अघि छुट्टा-छुट्टै विशेषता बोकेका धुपु, बाह्रबिसे र सभापोखरी गाविसलाई मिलाएर प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सभापोखरीलाई आधार मानि यस गाउँपालिकाको नाम सभापोखरी गाउँपालिका नामाकरण गरिएको हो । प्राचीनकालमा ब्यास पुत्र शुकदेव आई शौनकादि ऋषिहरुलाई पुराण सुनाईसकेर सभा गरेको हुँदा त्यहीँबाट नै सभापोखरी नाम रहन गएको जनश्रुति छ ।
अर्को किम्बदन्ति अनुसार पृथ्वीमा दैत्यहरुले गर्ने विनाश रोक्न देवताहरुले यहाँ सभा बसी योजना बनाएका थिए । सभाखोलाको उद्गमस्थलको रुपमा रहेको यो पोखरी धार्मिक, पर्यटकीय, सौन्दर्य तथा जैविक विविधता बोकेको क्षेत्र समेत हो । गाउँपालिकाको नाम सभापोखरी रहेतापनि यहाँको बाह्रबिसे बजार ऐतिहासिक रुपले उत्तिकै महत्व बोकेको पुरानो ब्यापारिक केन्द्रको रूपमा रहेको छ ।
सभापोखरी गाउँपालिका संखुवासभा जिल्लाको उत्तर पूर्व क्षेत्रमा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा ताप्लेजुङ जिल्ला, पश्चिममा खाँदबारी नगरपालिका र चिचिला गाउँपालिका, उत्तरमा मकालु गाउँपालिका पर्दछन् भने दक्षिणमा पाँचखपन नगरपालिका रहेको छ ।
यस सभापोखरी गाउँपालिकामा साविकको धुपु गाविसका १-४ वडालाई वडा नं. १, साविक धुपु गाविसका ५-९ वडालाई वडा नं.-२, साविक बाह्रबिसे गाविसका १-६ वडालाई वडा नं.-३, बाह्रबिसे गाविसका ७-९ वडालाई वडा नं.- ४, साविक सभापोखरी गाविसका ७-९ वडालाई वडा नं.-५ तथा सभापोखरी गाविसका १-६ वडालाई वडा नं.- ६ कायम गरिएको छ । गाउँपालिकाको राजनैतिक प्रशासनिक विभाजनलाई तलको तालिकामा स्पष्ट रुपमा प्रस्तुत गरिएको छ ।
कुल क्षेत्रफल २२२.०८ वर्ग किलाेमिटर रहेकाे छ। साथै कुल घरधुरी- (२०७८) मा २ हजार ५ सय ७ रहेकाे छ। त्यस्तै,कुल जनसंख्या- (२०७८) मा ९ हजार ९ सय ७० रहेकाे छ ।
सभापोखरी गाउँपालिका-१ का वडा अध्यक्ष इश्वर पुलामी मगरले सुरक्षा व्यवस्थालाई प्रभावकारी ढंगले अघि बढाउने याेजना रहेकाे बताउनुभएकाे छ । युवालाई विदेश जानबाट राेक्नका लागि दूध संकलन गर्ने चिस्यान केन्द्रकाे स्थापना भएकाे पनि उहाँले बताउनुभएकाे हाे ।
खानेपानीको समस्यालाई कोरियन र नेपाल रेडक्रस सोसाइटीसँगको साझेदारीमा पूर्ण रूपले समाधान गर्ने पनि उहाँले बताउनुभयाे । साथै समग्र रूपमा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि सहज रूपमा नै काम भइरहेको पनि उहाँले बताउनुभयो ।अब ३ वर्षभित्रमा खानेपानीकाे समस्या पनि समाधान गर्ने उहाँकाे दावी छ ।
यस वडामा दूध र तेलकाे उत्पादनमा आत्मनिर्भर गर्ने लक्ष्य रहेकाे उहाँले बताउनुभयाे । तीव्र गतिमा विकास गर्नका लागि सबै जनता राजनीतिक दल र जनप्रतिनिधि मिलेर मात्र सम्भव हुने पनि उहाँले बताउनुभयाे। खिचातानी र लखेट्ने प्रवृत्तिले विकासको गतिमा ह्रास आउने पनि उहाँकाे भनाइ छ।
सडक बाह्रै महिना संचालन भएकाे र यस वडालाई बजारीकरण गर्नका लागि सडकमा सडक बत्तीकाे राख्ने याेजना रहेकाे पनि उहाँले बताउनुभयाे । कृषि क्षेत्रमा आधुनिक तरिकाले खेती गर्न सुरू गरिएकाे पनि अध्यक्ष मगरले बताउनुभयाे ।
पर्यटन क्षेत्रलाई व्यवस्थित रूपमा अगाडि बढाउने पहल भइरहेकाे पनि उहाँले बताउनुभयाे । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रशासन, व्यवस्थापन समिति,अविभावक र स्थानीय सरकार निरन्तर एक भएर अघि बढ्नु पर्ने उहाँकाे तर्क छ। आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर १ लाई पालिकाले ५० लाखको बजेट सिलिङ गरेको उहाँले बताउनुभयो ।
अन्त्यमा जनताकाेबीचमा गरेका प्रतिवद्धता सबै पूरा गर्ने अध्यक्ष मगरकाे दावी छ।