Share Icon

११ असाेज, काठमाडाैं । संघीय व्यवस्था अनुसार नेपालमा संघ,सात प्रदेश र ७ सय ५३ वटा स्थानीय तहको गठन भएको छ।

जसमा कोशी प्रदेश ओखलढुङगा जिल्लामा ८ स्थानीय तह रहेका छन् । जिल्लामा १ नगरपालिका र सात वटा गाउँपालिका मध्ये माने भन्ज्याङ गाउँपालिका एक हो। यो गाउँपालिका १ सय ४६ दशमलव ६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस गाउँपालिकाको केन्द्र मानेभन्ज्याङ वडा नम्बर ५ मा रहेको छ। यस गाउँपालिकाको सीमाना पूर्वमा खोटाङ,पश्चिममा सुनकोशी गाउँपालिका ,उत्तरमा सिद्धिचरण नगरपालिका र दक्षिणमा उदयपुर जिल्ला रहेको छ ।

२१ हजार ८२ जना कुल जनसंख्या भएको यस गाउँपालिकामा मुख्यतः राई,मगर,तामाङ,क्षेत्री,बाहुन,नेवार,भुजेल,माझी,कामी,दमाई र सार्की आदि जातजाति भाषा-भाषीको बसोबास रहेको छ। ९ वटा वडामा विभाजित यस गाउँपालिकामा कुल ४ हजार ६ सय १८ घर संख्या रहेका छन्।

माने भन्ज्याङ गाउँपालिका-२ का वडा अध्यक्ष राममणी राईले विद्युतकाे केन्द्रीय लाइन ३ महिनाभित्रमा सम्पन्न हुने बताउनुभएकाे छ । साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि सहज रूपमा नै काम भइरहेको पनि उहाँले बताउनुभयो ।

गत असार १६ गतेबाट शैक्षिक क्षेत्र, वडा कार्यालय र स्वास्थ्य चाैकीमा वाइ-फाई जडान गरेर सबै कामहरू अनलाइनबाट नै गरिएकाे अध्यक्ष राईले बताउनुभयाे । तुलनात्मक रूपमा  सामुदायिक विद्यालयहरू सुधार भएकाे उहाँकाे तर्क छ । कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएको उहाँले बताउनुभएको छ ।

लिप्जु मन्दिरलाई पर्यटकीय क्षेत्र बनाउने योजना रहेको उहाँले बताउनुभयो । साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर २ लाई पालिकाले ३२ लाख ४५ हजारको बजेट सिलिङ गरेको उहाँले बताउनुभयो ।

युवालाई स्वदेशमै निर्वाचनको समयमा जनताकाबीचमा गरेका प्रतिवद्धता पूरा गर्ने उहाँको दावी छ ।

Facebook Comments Box

Share Icon