तस्करीको सुन बेचेको रकम चिनियाँ गिरोहले क्यासिनोमार्फत पठाउँथे हङकङ

Share Icon

काठमाडौँ । चिनियाँ गिरोहले तस्करी गरेर ल्याएको सुन बेचेको रकम क्यासिनोमार्फत हङकङ पठाउने गरेको खुलेको छ। ठमेलको छायाँ सेन्टरसँगै रहेको ‘वाल्डो क्यासिनो’मार्फत जम्मा गरेर रकम हङकङ पुर्‍याउने गरेको अनुसन्धानमा खुलेको छ।

क्यासिनोका कर्मचारीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिएको छ। बयानका क्रममा एलेक्स भनिने यायो पुचेङले उक्त क्यासिनोमा खेल्ने र क्यासिनो मार्फत नै रकम हङकङ पठाउने गरेको खुलेको हो। यो होटलको शाखा मकाओमा पनि छ। सोही कारण तस्करलाई यहाँ जम्मा गरेर हङकङबाट रकम लिन सजिलो भएको प्रहरीको निस्कर्ष छ।

सीआईबीले ६० किलो सुन प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ। ६० दिनको हद म्यादका कारण सीआईबीले मंगलबार नै अनुसन्धान प्रतिवेदन पठाउने तयारी गरेको छ।

सोमबार मात्रै जिल्ला अदालत काठमाडौंले यो प्रकरणमा पक्राउ परेका ३० जनालाई मंगलबारसम्म हिरासतमा राख्न अनुमति दिएको छ। सीआईबीलाई जिल्ला सरकारी वकिल कार्यालयले छिटो मुद्दा बुझाउन ताकेता गर्दै अरु म्याद दिन मानेको छैन।

सीआईबीले पनि मंगलबार नै प्रतिवेदन बुझाउने तयारी गरिरहेको जनाएको छ। पछि पक्राउ परेका र खुलेका व्यक्तिलाई पछि नै अनुसन्धान गरेर मुद्दा चलाउन सकिने गरी अहिले अभियोग पत्र दायर गर्ने तयारी भएको छ।

तस्करी प्रकरणमा ८ चिनियाँ, भन्सारका कर्मचारी, सुन किन्ने व्यवसायी र सुन व्यवस्थापन गर्ने गिरोहसम्म पुगेको सीआईबीले केही व्यक्तिहरु भने पहिचान गरिसकेको तर उनीहरु फरार रहेको जनाएको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.