अन्तर्राष्ट्रिय समुदायले गरेका प्रतिवद्धता पूरा गर्नुपर्छः प्रधानमन्त्री दाहाल
२ असोज, काठमाडौं । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको एसडीजी शिखर सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्नुभएकाे छ।
विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्षको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेको प्रतिवद्धता कार्यान्वयन हुनुपर्ने बताउनुभएकाे हाे ।
एसडीजी प्रोत्साहन प्याकेज मार्फत अतिकम विकसित राष्ट्रलाई सहयोग गर्न, ऋण सङ्कटलाई सम्बोधन गर्न र समयमै समन्वित र उपयुक्त ऋण समाधान उपलब्ध गराउन पनि उहाँले आग्रह समेत गर्नुभयाे।
कोभिड-१९ काे महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी सङ्कटहरूले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसवाट उम्कन उद्धार योजना जरुरी रहेको समेत उहाँले बताउनुभयाे ।
सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशहरुमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै उहाँले यसवाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठूलो धक्का लागेको तथा बाह्य ऋणले संकटको जोखिम बढाएको औल्याउनुभयाे ।
प्रधानमन्त्री दाहालले अतिकम विकसित देशहरुले स्वदेशी श्रोत र संस्थालाई सुदृढ र परिचालन गर्ने अधिकतम प्रयास जारी राखेको बताउँदै दिगो विकास लक्ष्य हासिल गर्न एक्लो प्रयासले मात्रै नपुग्ने बताउनुभयाे।







