Share Icon

२८ असाेज, काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चालू वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताउनुभएको छ ।

आइतबार मन्त्रीनिवास पुलचोकमा सत्तारुढ दल नेपाली कांंग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाड  पर्वका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले इनधनको भाउ बढेका कारण भाडादर बढेको भन्दै चाड पर्वका बेलामा हुने कालो बजारीलाई रोक्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताउनुभयो ।

उहाँले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताउनुभयो । मन्त्री किराँतीले १० वटासम्म जहाज नथपी पर्यटकहरु नेपाल नआउने दावी गर्नुभयो । उहाँले दशैं अघि नै औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढ्ने बताउनुभयो । उहाँले आइतबारबाट नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दशैं भर सञ्चालन गर्ने बताउनुभयो ।

त्यस्तै, नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले चाडवाडको मौका छोपी कमाउ धन्दामा लाग्नेहरुलाई सरकारले नियमन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भारत जान ११ हजार तर नेपालकै सुर्खेत जाँदा १६ हजारसम्मको भाडादर पर्ने कुरामा नियन्त्रण र निगरानी राख्न मन्त्री किराँतीको ध्यानाकर्षण गराउनुभयो ।

सभापति शेर्पाले सरकारका नीति बनाउँदा विद्यार्थी मैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments Box

Share Icon