२०२४ को लोकसभा चुनावमा सबै रेकर्ड तोडेर भव्य विजय हासिल गर्ने मोदीको दाबी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०२४ को लोकसभा चुनावमा सबै रेकर्ड तोडेर भव्य विजय हासिल गर्ने दावी गरेका छन् । लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिँदै प्रधानमन्त्री मोदीले सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए र भाजपाले भव्य विजय हासिल गर्ने दावी गरेका हुन् ।
उनले भने, “एक किसिमले भन्ने हो भने विपक्षीको अविश्वास हाम्रो लागि सधैं भाग्यको बिषय बनेको छ । आज म देख्न सक्छु कि तपाईं (विपक्षी) ले निर्णय गर्नुभएको छ कि एनडीए र भाजपा विगतका सबै रेकर्डहरू तोड्दै, जनताको आशीर्वादका साथ २०२४ को चुनावमा ठूलो विजयका साथ फर्कनेछन् ।”
उनले विपक्षी दलमाथि कटाक्ष गर्दै विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद भएको बताए। मोदीले भने, “भारतीय जनताले हाम्रो सरकारमाथि पटक-पटक विश्वास देखाएका छन् । म यहाँ देशका करोडौं जनताप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ ।”
प्रधानमन्त्री मोदीले सन् २०१९ को लोकसभा चुनावअघि सन् २०१८ मा पनि विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको स्मरण गरे । “परमेश्वर धेरै दयालु हुनुहुन्छ र कुनै माध्यमद्वारा बोल्नुहुन्छ । विपक्षले सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याएको छ । यो भगवानको आशीर्वाद हो भन्ने मलाई विश्वास छ ।”
उनले विपक्षी गठबन्धनलाई सङ्केत गर्दै भने, “मैले सन् २०१८ मा अविश्वासको प्रस्तावको बेला भनेको थिएँ कि यो हाम्रो लागि परीक्षा होइन तर उनीहरूका लागि परीक्षा हो ।अविश्वासको प्रस्ताव फलस्वरूप उनीहरू चुनावमा पराजित हुनुपरेको थियो ।”
प्रधानमन्त्री मोदीले विपक्षी दललाई आफूले विश्वासको मत परीक्षण भएको र सन् २०१८ को अविश्वासको प्रस्तावमा जति मत प्राप्त भएको थियो, त्यो पनि जुटाउन नसकेको दावी गरेका छन् । मोदी सरकारविरूद्द लोकसभामा दर्ता भएको अविश्वासको प्रस्ताव परास्त भएको छ ।