विदेशी मुद्रा तस्करीमा पक्राउ परेका चिनियाँको नेपालका बैंकमा करोडौं रकम

Share Icon

काठमाडाैं । लाखौं अवैध विदेशी मुद्रा बोकेर मलेसियाको राजधानी क्वालालम्पुर जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका एक चिनियाँ नागरिकको नेपालका बैंकमा करोडौं रकम रहेको पाइएको छ।

२२ जेठमा पक्राउ परेका चिनियाँ नागरिक फङ छेङवेनले सिटिजन्स बैंकमा १ करोड २ लाख रुपैयाँ जम्मा गरेको भेटिएको हो।

प्रहरीका अनुसार सिटिजन्स बैंक नयाँबजार शाखामा आफ्नो नामको खाता नं. ०११४१०००००६७००४१ मा विभिन्न मितिमा जम्मा गरेको १ करोड २ लाख रुपैयाँको मुद्दती रसिद बरामद भएको हो।

फेब्रुअरी २२, २०२३ को ५० लाख रुपैयाँ, मे २२, २०२३ को ३७ लाख रुपैयाँ र मे ३०, २०२३ को १५ लाख रुपैयाँको मुद्दती रसिद बरामद भएको प्रहरीले जनाएको छ।

विमानस्थल सुरक्षामा खटिएका प्रहरीले विशेष जाँच गर्दा उनले बोकेको लगेजमा विभिन्न मुलुकका अवैध मुद्रा फेला परेपछि उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनको साथबाट विभिन्न देशका गरेर करिब ६० लाख नगद बरामद गरेको थियो।

नेपाली रुपैयाँ ९ लाख ८ हजार, भियतनामी मुद्रा ४० लाख ५० हजार, कम्बोडियन रियल ५ हजार, भारतीय रुपये ८ हजार ४ सय ६०, लाओसियन मुद्रा २ लाख ५० हजार, सिंगापुर डलर २ सय ४२, मलेसियन रिंगेट ३ सय ५१, चिनियाँँ २१ युआन, अमेरिकी डलर २ हजार र थाई भाट १ लाख १३ हजार बरामद भएको थियो।

उनी अन्तरदेशीय अपराधमा संलग्न रहेको हुन सक्ने आशंकामा प्रहरीको विशेष ब्यूरोले समेत अनुसन्धान थालेको छ।

विमानस्थल प्रहरीले उनलाई राजस्व अनुसन्धान विभाग पठाएको छ। विभागले उनीविरुद्ध विदेशी मुद्रा अपचलन मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रहरी अनुसन्धानका क्रममा उनी तीन पटक नेपाल आएको समेत खुलेको छ। बयानमा भने उनले दोभासेको सहयोगमा समेत केही बोल्न नमानेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।

पछिल्लो समय चिनियाँ नागरिकले नेपाली भूमि प्रयोग गरेर आपराधिक गतिविधि बढाएको प्रहरीको तथ्यांकले देखाएको छ।

२३ जेठमा मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्राष्ट्रिय कल तथा एसएमएस बाइपास गरेर अवैध धन्दा चलाउने एक चिनियाँ र एक नेपालीलाई पक्राउ गरेको थियो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.