Share Icon

एजेन्सी।  चिनियाँ राष्ट्रपति सी जिनपिङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआआई) मा एक सय अर्ब अमेरिकी डलर भन्दा बढी नयाँ लगानी गर्ने घोषणा गर्नुभएकाे छ।

बुधबार बीआरआईको १०औं वार्षिकोत्सवका अवसरमा आयोजित शिखर सम्मेलनलाई सम्बाेधन गर्दै राष्ट्रपति सीले यस्ताे  घोषणा गर्नुभएकाे हाे।बीआरआई विदेशमा चीनको प्रभाव विस्तार गर्ने राष्ट्रपति सीको केन्द्रीय स्तम्भ हो जसमा बेइजिङले विश्वभर २० खर्ब अमेरिकी डलर भन्दा बढीको सम्झौता गरेको बताएको छ । ग्लोबल साउथमा संसाधन र आर्थिक विकास ल्याउनका लागि समर्थकहरूले यसको सराहना गरेका छन् ।

तर गरीब मुलुकहरूमा यसले ऋणको भारी बोकाउने भन्दै यसको आलोचना पनि हुँदै आएको छ । बीआरआईको प्रमुख ऋणदाता चाइना डेभलपमेन्ट बैंक र एक्स्पोर्ट–इम्पोर्ट बैंकले अतिरिक्त एक सय अर्ब डलर ऋण प्रस्ताव गर्ने राष्ट्रपति सीले बुधबार घोषणा गर्नुभएकाे हाे ।

उहाँले दुवै बैंकले बीआरआई परियोजनाहरूका लागि ३ खर्ब ५० अर्ब युआन (४७ अर्ब ९० करोड अमेरिकी डलर) को वित्तीय अवसर स्थापित गर्ने बताउनुभएकाे हाे। उहाँका अनुसार परियोजनाको आधिकारिक ऋण संस्था सिल्क रोड फन्डमा अर्को ८० अर्ब युआन लगानी गरिने छ ।

सन् २०१३ मा बीआरआई सुरु भएयता बेइजिङले आयोजना गरेको आफ्नो किसिमको यो तेस्रो ठूलो शिखर सम्मेलन हो । सम्मेलनमा १ सय ३० मुलुकका प्रतिनिधि सहभागी भएका थिए ।

Facebook Comments Box

Share Icon