ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान

Share Icon

२५ चैत,ढोरपाटन । बागलुङको ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको छ । नेपालको एक मात्र सिकारको केन्द्र ढोरपाटन उपत्यकामा शुक्रबारदेखि प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएर वडा नं ९ मा परीक्षण उडान थालिएको नगरपालिकाले जनाएको छ । पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले ढोरपाटनमा प्याराग्लाइडिङ परीक्षण उडान गर्न थालिएको नगरउपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो ।

परीक्षण उडानका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु तीन लाख विनियोजन गरेको थियो । उहाँले ढोरपाटनमा धेरै सम्भावना हुँदाहुँदै पनि पछि परेको भन्दै अब यहाँका सम्भावनाको खोजी र प्रवद्र्धनमा लाग्ने बताउनुभयो ।

ब्लू स्काई प्याराग्लाइडिङ प्राली पोखराले परीक्षण उडान थालेको उपप्रमुख कायतको भनाइ छ । परीक्षणपछि प्याराग्लाइडिङ प्रालीले प्रतिवेदन नेपाल नागरिक उड्यन प्राधिकरणलाई बुझाउनेछ । शुक्रबार ढोरपाटनको मसिनधाराबाट उडान गरेर तल्लोचौरमा सफल अवतरण भएको थियो ।

उपप्रमुख कायत भन्नुहुन्छ, “नगरपालिकाले नीति तथा कार्यक्रम बनाउने बेलामै प्याराग्लाइडिङ परीक्षण उडान गर्ने भनी बजेट बनाएको थियो, अहिले दुई दिने परीक्षण उडान गर्न लागिएको हो, अहिलेसम्म सफल उडान भएको छ, उडान सफल नै हुन्छ भन्ने लागेको छ, नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर यहाँ नियमित उडान गर्नेछौँ ।”

प्याराग्लाइडिङ नियमति सञ्चालन हुन थाल्यो भने ढोरपाटन क्षेत्रको मुहार बदलिने र यहाँका स्थानीयको जनजीवनमा परिवर्तन आउने उपप्रमुख कायतको भनाइ छ । अहिले ढोरपाटन पुग्ने सडक अप्ठ्यारो हुँदा समस्या भएको भन्दै सालझण्डी–ढोरपाटन सडक आयोजनलाई तत्काल सडक निर्माण गर्न आग्रह गरिरहेको उहाँको भनाइ छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.