Share Icon

२५ चैत,त्रिवेणी । जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने अकला गुफाको संरक्षणमा चासो दिइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली गाउँपालिका–२ डेढगाउँमा रहेको अकला गुफाको संरक्षणमा अकलादेवी गुफा तथा मन्दिर व्यवस्थापन समितिले हालैमात्र पहुँचमार्गका रुपमा बाटो निर्माण गरेको छ ।

पर्यटनको सम्भावना बोकेको अकला गुफाको संरक्षण नहुँदा यसै ओझेलमा परेको थियो । हाल समितिको पहलमा अकला मन्दिरदेखि अकला गुफासम्म जाने करिब एक सय ५० मिटर लम्बाइको बाटो निर्माण गरिएको समितिका अध्यक्ष टङ्क पुलामीले बताउनुभयो ।

गुफासम्म पुग्ने बाटो नै हराउँदै जाँदा मन्दिरमा आएका पर्यटक सहजरुपमा गुफासम्म जान सकिरहेका थिएनन् । यसले गर्दा अकला गुफा ओझेलमा पर्दै आएकोमा अहिले गाउँपालिकाको सहयोगमा बाटो निर्माणको काम गरिएको अध्यक्ष पुलामीले बताउनुभयो ।

पर्यटनको सम्भावना बोकेको अकला गुफा करिब एक सय मिटर लम्बाइको छ । यस गुफामा सहजैरुपमा वारपार गर्न सकिन्छ । गुफाको एक भागबाट अर्को भागमा निस्किँदा धेरैजसो स्थानमा उठेरै पार गर्न सकिन्छ ।

पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थान भए पनि संरक्षणको अभावमा ओझेलमा पर्दै आएकाले हाल गुफाको संरक्षणको अभियान सुरु गरिएको अध्यक्ष पुलामीले बताउनुभयो ।

“यहाँ रहेको अकला मन्दिर जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो, तर नजिकै रहेको गुफामा सहजरुपमा पहुँचमार्ग नहुँदा ओझेलमा परिरहेको थियो, यसको संरक्षण र प्रचारप्रसार पनि कम हुँदा त्यति मान्छे आउँथेनन्”, अध्यक्ष पुलामीले भन्नुभयो, “हामी अहिले मन्दिरसँगै गुफाकोसमेत संरक्षण र प्रवद्र्धनमा लागेका छौँ ।”

गुफाभित्र प्रवेश गर्दा अनेकौँ कलात्मक आकृति देख्न सकिन्छ । चमेराको बथानसहित गुफाको भित्री भागको भित्तामा कलात्मक आकृतिले अकला गुफाको आकर्षण बढाएको छ । यसको संरक्षण हुन सकेको थिएन ।

अहिले बाटो निर्माणसहित गुफामा बत्ती जडानको कामसमेत गरिएको समितिका अध्यक्ष पुलामीले बताउनुभयो । गुफामा पौराणिककालमा ऋषिमुनिले तपस्या गरेको कथन छ ।

यसको आवश्यक खोज र अनुसन्धान भने हुन सकेको छैन । यसको खोज तथा अनुसन्धान हुनसमेत आवश्यक रहेको समितिका अध्यक्ष पुलामीले बताउनुभयो ।

अकला गुफासँगै अहिले यहाँ रहेको अकलादेवी मन्दिरमा समेत रङरोगन, गेट निर्माण, बत्ती जडानलगायतका विविध काम गरिएको उहाँले जानकारी दिनुभयो ।

मन्दिर नजिकै पार्क निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । मन्दिर दर्शनका लागि दैनिकजसो जिल्ला तथा जिल्ला बाहिरबाट भक्तजन आउने गरेको उहाँले बताउनुभयो ।

अकला मन्दिर र अकला गुफालाई जोडेर पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्न सकिने सम्भावना रहेको छ । मन्दिरसम्म आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गुफासम्म पु¥याउन सकेमात्र पनि गुफाको महत्व बढ्ने गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो ।

गुफाको संरक्षणका लागि पालिकाबाट आवश्यक काम गरिने अध्यक्ष ओझाले बताउनुभयो । मन्दिर र गुफा पालिकाको मात्रै नभएर जिल्लाकै महत्वपूर्ण पर्यटकीयस्थल भएकाले यसको संरक्षण र प्रवद्र्धनमा पालिका सधैँ लागिपर्ने उहाँले बताउनुभयो ।

Facebook Comments Box

Share Icon