Share Icon

२४ चैत,नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ ।

वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोज्न थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाका २३ वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको छ । अभियान प्रभावकारी बनाउन वडा–वडामा गोष्ठी, खोप सुनिश्चितता र कार्ययोजना तयार गरिएको उहाँले बताउनुभयो ।

चैत मसान्तसम्ममा खोप नलगाएका बालबालिकाको एकिन गरी खोप लगाइने छ । “वडा स्तरदेखि नै छुटेकाको खोजी गरी खोप लगाउने उद्देश्यले घरधुरी सर्वेक्षणमा जुटेका छौँ”, बस्नेतले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ) को सहयोगमा घरधुरी सर्वेक्षण भइरहेको छ । घरधुरी सर्वेक्षणको प्रगति र प्रभावकारिताबारे अनुगमन पनि भइरहेको छ । हालसम्म वडा नम्बर ३, ८, १४ र २२ मा घरधुरी सर्वेक्षणको काम सकिएको छ ।

नियमित खोप लगाउन छुटेकाको पहिचान र विश्लेषण गर्ने गरी कार्ययोजना बनाइएको उपमहानगरपालिकाले जनाएको छ । कार्यशालामार्फत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धिसमेत गरिएको छ । वडास्तरमा वडाध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित गरिएको छ ।

Facebook Comments Box

Share Icon