पहिलो पटक केन्द्रीय लाइन पुगेपछि खुसीयाली

Share Icon

९ चैत,ढोरपाटन । बागलुङको बरेङ गाउँपालिका-१ ओखरेनी र छापगाउँमा पहिलो पटक विसं २०५९ मङ्सिरमा बिजुली बल्यो ।

गाउँमा बिजुली बलेपछि यहाँको जनजीवन अँध्यारोबाट उज्यालोतर्फ उन्मुख भयो । स्थानीयको मेहनत र तत्कालीन जिल्ला विकास समितिको सहयोगमा निर्माण भएको पालुङखोला लघु जलविद्युत् आयोजनाले २० वर्ष गाउँ उज्यालो बनायो ।

बीस किलोवाट क्षमताको उक्त लघु जलविद्युत् आयोजनाबाट उत्पादित विजुली बढ्दो जनसङ्ख्या र खपत बढ्दै जाँदा अपुग हुन थालेको थियो । आयोजनाबाट उत्पादित विद्युत्बाट स्थानीयले बत्ती बाल्ने, स–साना मिल र इलोक्ट्रोनिक सामान चार्ज गर्न मात्रै गर्ने गर्थे । अहिले पनि उक्त विद्युत् आयोजना सञ्चालनमा छ ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले केन्द्रीय प्रशारण लाइन गाउँमा पु¥याएपछि स्थानीयमा खुसीयाली छाएको छ । अब ठूला मेसिनरी सामान सञ्चालन गर्न सक्ने अवस्था भएको छ ।

पालुङखोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष सकसबहादुर क्षेत्रीले लघु जलविद्युत्ले स्थानीयको जीवनमा ठूलो परिवर्तन लिएको सुनाउँदै अब केन्द्रीय प्रसारण लाइन पुगेपछि थप परिवर्तन ल्याउने बताउनुहुन्छ ।

लघु जलविद्युत पुरानो हुँदै गएको र बेलाबेलामा सामान्य समस्या आइपर्ने गरेको तर अब भने त्यस्तो समस्या नआउनेमा उहाँको विश्वास छ । अध्यक्ष क्षेत्रीले भन्नुभयो, “बीस वर्षअघि गाउँमा बिजुली बल्दा धेरै दङ्ग परेका थिए, पछिल्लो समय बिजुली खपत बढेको थियो । अब केन्द्रीय प्रसारण लाइन आएपछि पहिलेको तुलनामा केही सहज हुनेमा विश्वास छ ।”

विद्युत् प्राधिकरण्लो बरेङ गाउँपालिका छापा र ओखरेनीका एक सय ५० घरसँगै जैमिनी नगरपालिका–४, ८, ९ र १० वडाका एक सय ५० गरी तीनसय घरमा केही हप्ता अगाडि मात्रै केन्द्रीय प्रशारण लाइन पु¥याएको छ ।

लघु जलविद्युत्को भरमा रहेका स्थानीयलाई केन्द्रीय प्रसारण लाइन पुगेपछि ठूलो राहत दिलाउने प्राधिकरणले जनाएको छ । स्थानीय थमबहादुर थापाले समय–समयमा विद्युत् गृह समस्या आउने र नहर पहिरोले बगाउँदा अन्धकारमा बस्न बाध्य भएको स्मरण गर्नुभयो ।

अब उज्यालोमा बस्न पाउनुका साथै साना तथा मझौला उद्योगी सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । “बिजुली बाल्न दुर्गम गाउँको समस्या धेरै हुनेरहेछ, बर्खामा कुलो भत्किने, रुख डलेर राता छुने हुँदा बिजुली बन्दहुन्छ, हावाहुरी चल्दा पनि बन्द हुन्छ”,

उहाँले भन्नुभयो, “कहिले पावर हाउसमा सस्या आउँदा महिना दिनसम्म पनि अँध्यारोमा बस्यौँ, सरकारले अहिले गाउँमा केन्द्रीय प्रसारण लाइन ल्याएको छ, अब पहिलाको जस्तो महिनौँसम्म अँध्यारोमा बस्न पदैन की ?”

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले जिल्लाभर केन्द्रीय प्रशारण लाइनलाइन विस्तारलाई तीव्रता दिएको बताउनुभयो । स्थानीयको समस्या र आवश्यकतालाई हेरेर प्राधिकरणले विद्युत् विस्तार गरिरहेको उहाँको भनाइ छ ।

मरासेनीले ओखेरी, छापा र बजैमिनीका विभिन्न वडामा केन्द्रीय प्रसारण लाइन पुगेपछि स्थानीय अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकासँग जोेडिएका पालिकाका सबै गाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको छ ।

जिल्लाका विभिन्न स्थानमा विद्युत् विस्तारका लागि यसवर्ष प्राधिकरणबाट रु एक करोड र नेपाल सरकारबाट रु ९३ लाख विनियोजन भएको थियो । केही महिना अगाडि पश्चिम बागलुङका सबै पालिकामा विद्युतीकरणका लागि रु १४ करोड ५६ लाख बजेट स्वीकृत भएर ठेक्का प्रक्रियामा गएको उहाँको भनाइ छ ।

दुई वर्षमा सबै बस्तीमा केन्द्रीय प्रसारण लाइन

अगामी दुई वर्षभित्र बागलुङका सबै बस्तीमा केन्द्रीय प्रशारण लाइन पुग्ने भएको छ । विद्युत् प्राधिकरणले पश्चिम बागलुङका पालिकालाई ‘फोकस’ गरेर काम गरी रहेको प्रमुख मरासेनीको भनाइ छ । उहाँले ताराखोला गाउँपालिकाको सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको र गलकोटको रमुवामा मात्रै बाँकी रहेको बताउनुभयो ।

बडिगाडको खार बजार र रमुवाका करिब तीन सय घरमा विद्युत् जडान सुरु गरिएको उहाँको भनाइ छ । सदरमुकाम क्षेत्रतर्फ जैमिनीको सर्कुवा बाहेक सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको छ ।

बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाको सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको सुनाउँदै अब ढोरपाटन, निसीखोला, बडिगाड र तमानखोलामा काम सुरु गर्ने मरासेनीले बताउनुभयो ।

जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका दुई सय ५० घरमा केही महिना अगाडि मात्रै केन्द्रीय प्रसारण लाइन पुगेको छ । पश्चिम बागलुङका लागि गलकोटमा सवस्टेशन निर्माण गरेर सञ्चालन गरेको र बुर्तिबाङमा पनि १३२ केभीको सवस्टेशन निर्माण भइरहको उहाँको भनाइ छ ।

यसवर्ष नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय प्रसारण लाइन पु¥याउने गरी काम तीव्र गरिमा गरिरहेको मरासेनीले बताउनुभयो ।

“अबको दुई वर्षभित्र जिल्लाका सबै बस्तीमा केन्द्रीय प्रसारण लाइन पुग्छ, अहिले सोहीअनुसार काम गरेका छौँ”, उहाँले भन्नुभयो, “पूर्वी क्षेत्रको अधिकांश ठाउँमा विद्युत् बलिसकेको छ, अब हामीहरुले पश्मिच क्षेत्रलाई ‘फोकस’ गरेका काम गरेका छौँ ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.