मासिँदै मौलिक सम्पदा

Share Icon

२९ चैत,ढोरपाटन । काठेखोला गाउँपालिका-१ पाल आरकोटमा डेढ दशकअघिसम्म चारवटा पोखरी थिए । पोखरी वरपर वरर पिपलका बोट पनि थिए । पोखरीमा गाउँलेले भैँसीलाई पानी खुवाउने र आहाल खेलाउने गर्थे भने चौतारी स्थानीयको थकाइ मार्ने स्थान थियो ।

अहिले त्यो स्थानमा एउटा मात्रै पोखरी छ । चौतारामा वरपीपल बिरुवा हुर्किंदैछन् । पछिल्लो समय गाउँमा गाईभैँसी पालन कम हुने र जथाभावी रुपमा निर्माण गरिएका सडकले पानीको मूल पुरिने र पोखरीको अस्तित्व नै सङ्कटमा पर्दै गएको छ ।

वर पीपल संरक्षण गर्न छोडेपछि शीतल प्रदान गर्ने छहारी पनि पाउनै मुस्किल पर्छ । पहिले गाउँका टोल, छिमेक र डाँडामा वर पीपल रोपेर चौतारा निर्माण गरिन्थ्यो भने अहिले हराउँदै गएका सम्पदाको संरक्षण गर्नतर्फ कसैको ध्यान पुगेको छैन । पुराना मौलिक सम्पदाहरु हराउँदै गएपछि बूढापाकाले चिन्ता व्यक्त गरेका छन् ।

धर्म संस्कृतिसँग जोडिएको पोखरी र चौतारा बसाइँसराइ तथा आधुनिकताले ओझेलिएको हो । पहिले–पहिले स्थानीयवासीले पोखरी निर्माण गर्दा र चौतारी बनाउँदा पुण्य कमाइने मान्यता रहे पनि अहिले कसैले पनि यस्ता काम नगर्ने काठेखोला गाउँपालिका-१ का ६० वर्षीय डिलबहादुर परियारले बताउनुभयो ।

बूढापाकाले काम गर्न नसक्ने र युवा पुस्ताले यस्ता धार्मिक काम गर्नतर्फ चासो नदिँदा पोखरी र चौपारी हराउँदै गएको सुनाउनुभयो । अहिले यहाँको पोखरीमा १०/१२ वटा भैँसीले मात्रै आहाल खेल्ने र पानी पिउने गर्छन् ।

स्थानीयवासीले पोखरीको प्रयोग गर्न छोडेपछि पोखरी सुक्खा जमिनमा परिणत हुँदै गएको स्थानीय ६० वर्षीय भूमिराज खत्रीले बताउनुभयो । उहाँले पहिले गाउँको धेरै ठाउँमा पोखरी संरक्षण गरेर राखे पनि अहिले अधिकांश पोखरी सडकले पुरिएको बताउनुहुन्छ । अहिले गाउँको केही ठाउँमा मात्रै पोखरी संरक्षित रहेको उहाँको भनाइ छ ।

“उतिबेला अहिलेको जस्तो खानेपानीको सुविस्ता (सुविधा) थिएन, एक गाग्री पानीका लागि घण्टाैँ धाउने पर्ने अवस्था थियो, पशुलाई बोकेर पानी खुवाउन पनि सकिँदैनथ्यो, त्यही भएर पोखरीमा लगिन्थ्यो,” खत्रीले भन्नुभयो, “अहिले सबैका घरघरमा धारा बने खानेपानीको खाँचो छैन, गाईभैँसीलाई घरमै भरेर पानी खुवाउन थाले, त्यसले गर्दा पोखरीको प्रयोग घट्यो र अहिले हराउँदै जान थाले ।”

उहाँले पोखरी तथा चौतारीसँग पहिचान जोडिएको बताउनुभयो । मौलिक सम्पदाका रुपमा रहेका पोखरी तथा चौतारी संरक्षणमा स्थानीय सरकारले चासो दिएमा पानीको मुलको संरक्षण हुने र वातावरणलाई हराभरा बनाउन मद्दत पुग्ने खत्रीको भनाइ छ । उहाँले विकाससँगै गाउँमा विनाश पनि हुँदै गएको बताउनुहुन्छ ।

पछिल्लो समय गाउँमा खानेपानीको मुहान पनि सुक्दै गएको उहाँको भनाइ छ । काठेखोला गाउँपालिकाले पालिकामा रहेको परम्परागत पोखरी संरक्षणमा जुटेको प्रवक्ता टीका सङ्गम विकले बताउनुभयो ।

उहाँले यस वर्ष वडा नं ४ को तङ्ग्राममा रहेका पोखरीहरुको संरक्षण गर्न सुरु गरेको भन्दै आगामी वर्षदेखि सबै वडामा सङ्कटमा रहेका पोखरीहरु पुनर्निर्माण गर्ने बताउनुभयो । गाउँपालिकाले यस वर्ष तङ्ग्रामको तापखोर र परम्दीमा रहेका पोखरी संरक्षणका लागि ३० लाख विनियोजन गरेको छ ।

प्रवक्ता विकले भन्नुभयो, “पोखरी र चौतारा त गाउँले जनजीवनसँग जोडिएको पहिचान हो, मौलिक सम्पदा संरक्षण गर्ने पालिकाको जिम्मेवारी पनि हो, पोखरीसँगै अन्य महत्वपूर्ण सम्पदालाई पनि प्राथमिकतामा राखेर संरक्षण गर्ने योजना बनाएका छौँ, अहिले ४ नंबाट सुरु भएको छ, आगामी वर्ष धरै पोखरीहरुको पुनर्निर्माण हुने छन् भने केही नयाँ पोखरी पनि निर्माण गर्नेछौँ ।”

विकले सडक निर्माण गर्दा पोखरी, कुवा तथा चौताराहरु जोगाएको बताउनुभयो । धेरै गाउँहरुमा अहिले सडक पुगेको र केही गाउँमा मौलिक सम्पदामा क्षति पुगेको भन्दै अब नयाँ संरचना गर्दा ध्यान दिने उहाँको भनाइ छ । गाउँका विभिन्न स्थानसँगै जङ्गलका केही ठाउँहरुमा पनि पोखरी निर्माण गर्न जरुरी रहेको प्रवक्ता विक बताउनुहुन्छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.