‘जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ’

Share Icon

७ चैत,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गर्नु भएको छ ।

आज ५८औा अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले जातिय छुवाछूत तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताउनुभयो ।

“कानूनरुपमा बर्जित भएपनि छुवाछूत जस्तो अमानवीय प्रथा पूर्णरुपमा अन्त्य हुनसकेको छैन । यसलाई तोडनका लागि समाजका सवै तप्काबाट जागरण अभियान चलाउनु आवश्यक रहेको छ”, उहाँद्वारा जारी सन्देशमा भनिएको छ । उहाँले पार्टीले मानवअधिकार र सामाजिक न्यायलाई आफ्नो सैद्धान्तिक निष्ठाका रुपमा आत्मसात गरेको समेत बताउनु भएको छ ।

अध्यक्ष ओलीले एमाले जात, जाति, वर्ग, वर्ण, लिङ्ग, धर्म, सस्कृतिलगायतका आधारमा गरिने विभेद र शोषणको विरुद्ध लड्दै आएको पार्टी रहेको उल्लेख गर्दै एमालेको सरकारले छुवाछूतबाट पीडित र प्रताडितको आर्थिक सवलिकरण र समाजिक मर्यादाका लागि नीतिगत सुधारमा नेतृत्वदायी भूमिका खेलेको बताउनु भएको छ ।

“आवासविहीन दलित र भूमिहिनका लागि आवास र भूमिको व्यवस्था गर्ने काम एमालेको सरकारले अघि बढाएको थियो”, सन्देशमा उहाँले भन्नुभएको छ, “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न जातीय आधारमा हुने सबै प्रकारका विभेद, कुरीति, अन्धविश्वास अपराध, बहिष्करण, बञ्चितिकरण र हिंसा अन्त्य गर्नुपर्दछ ।”

त्यसैगरी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मानव सभ्यता विकासका लागि जातीय विभेद र छुवाछूत बाधक रहेकाले यस्ता विकृतिका अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले छुवाछूत र जातीय हिंसाविरुद्ध सबै एकजुट भएर सामाजिक न्याय, समानता, स्वतन्त्रताका माध्यमबाट शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण हुने उल्लेख गर्नुभएको छ ।

उक्त सन्देशमा शिष्ट र सभ्य समाज निर्माणका लागि जातीय हिंसा, छुवाछूतजस्ता विसङ्गतिको अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ । नेपाली समाजलाई यस्ता हिंसा र विभेदबाट मुक्त गरी समानता कायम गर्न आफ्नो पार्टीले लामो समयदेखि राजनीतिक गतिविधि गरेको भन्दै जातीय हिंसालगायत विकृतिविरूद्ध चेतनामूलक अभियानको खाँचो औँल्याइएको छ ।

संयक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सो महासन्धिलाई सन् १९७१ मा मात्रै नेपालले अनुमोदन गरेको थियो । यो दिवस भने सन् १९६६ देखि प्रत्येक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.