Share Icon

१३ असाेज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल भएको बताउनुभएको छ ।

शनिबार अमेरिका र चीन भ्रमणपछि स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा छलफल भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले दुई देशबीच भएको समझदारीहरु र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भइ अघि बढाउने सहमति भएको पनि बताउनुभयो । उहाँले नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण सुरु गर्ने सहमति भएको बताउनुभयो । उहाँले स्याँप्रुबेसी रसुवागढी सडक मर्मतका लागि चिनियाँ पक्ष तयार भएको र हिल्सा सिमिकोट सडकको अध्ययन सम्भाव्यता अध्ययन गरी अघि बढाउन सहमत भएको बताउनुभयो ।

उहाँले चीनसँग टोखा-छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्र गतिका साथ अघि बढाउने, काठमाडौं चक्रपथ सडकको दोस्रो चरणको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको पनि बताउनु भयो । उहाँले नेपाल-चीन रेल्वे सहयोगका लागि कार्यदलको आठौँ बैठक छिट्टै र गर्नेमा सहमति लगायत १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको बताउनुभयो । उहाँले नेपाल र चीनबीच परम्परागत नाकाका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापार नाका सञ्चान हुने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले मुस्ताङको कोरला नाका खोल्नुका साथै किमाथांका र ओलङचुङगोला चाँडै सञ्चालनमा ल्याउने सहमति भएको बताउनुभयो । उहाँले मुस्ताङको कोरला नाकामा चीनले पूर्वाधारमा सहयोग गर्ने सहमति भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले तिब्बत र नेपालको रेल, सडक, हवाईसेवा विद्युत प्रशारण लाइन सबै क्षेत्रबाट जोडेर ट्रान्स हिमालयन मन्टी डाइमेन्सनल कनेक्टीभिटीको विषयलाई व्यवहारमा उतार्ने बारेमा छलफल भएको र लासाबाट काठमाडौं हवाई सेवा पुनः सुचारु गर्नसमेत अनुरोध गरेको बताउनुभयो ।

नेपाल लगायत अतिकम विकसित देशहरुले दिगो विकासका लक्ष्यहरुको प्राप्तिमा भोगेका समस्या र त्यसको समस्याका लागि दोहा कार्ययोजनालाई मूर्त रुप दिन, विकास साझेदारबाट श्रोत साधन र प्राविधिक सहयोग हुनुपर्नेमा अमेरिका भ्रमणमा विशेष जोड दिएको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

Facebook Comments Box

Share Icon