सय बढी देशसँग मोदीले गरे इजरेल–हमास युद्धका चुनौतीविरुद्ध एकजुट हुन आग्रह

Share Icon

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक सयभन्दा बढी मुलुकको भर्चुअल सम्मेलन बोलाएर इजरेल–हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गरेका छन्।

“यो समय ग्लोबल साउथ मुलुकहरू बृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्छ”, विकासशील राष्ट्रहरूलाई उल्लेख गर्दै उनले भने ।

गत सेप्टेम्बर २० मा शीर्ष विश्व अर्थतन्त्रहरूको समूहको बैठकका क्रममा गरिएका निर्णयको पालना गर्न भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलन बोलाइएको हो । सेप्टेम्बरको बैठकमा नयाँदिल्लीले कूटनीतिक सफलता हासिल गरेको र यसमा अफ्रिकी सङ्घलाई एउटा सदस्यका रूपमा जोडिएको दाबी गरेको थियो ।

आफूलाई ग्लोबल साउथको नेताका रूपमा हेर्ने भारतले यी मुलुकहरूका लागि विश्वले महत्त्वपूर्ण मुद्दाहरूमा प्रगति गर्नुपर्ने बताएको छ । “हामी एक सयभन्दा बढी मुलुक भए पनि प्राथमिकता उस्तै छ”, संसाधन दक्षता, गरिबी न्यूनीकरण र खाद्य सुरक्षासहित विकासशील मुलुकहरूका लागि महत्त्वपूर्ण मुद्दामा जोड दिँदै मोदीले भने, “भ्वाइस अफ ग्लोबल साउथ २१औँ शताब्दीको सबैभन्दा अनौठो प्लेटफर्ममध्येको एक हो, भौगोलिक दृष्टिकोणले विश्वव्यापी दक्षिण सधैँ अस्तित्वमा छ तर यसले पहिलोपटक आफ्नै आवाज प्राप्त गरेको छ ।”

जलवायु वित्त, विकासशील मुलुकहरूको कर्जा बोझ र दिगो विकासका लागि किफायती र समावेशी ऊर्जा परिवर्तन शिखर सम्मेलनको बन्द सत्रमा छलफल गरिने विषय रहेको भारतीय विदेश मन्त्रालयले बताएको छ ।

प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा इजराइल–हमास युद्धमा सर्वसाधारणको भएको मृत्युको भरत्सर्ना गर्दै युद्धबाट नयाँ चुनौती आएको बताए । “अक्टोबर ७ मा इजरेलमा भएको आतङ्कवादी हमलाको भारत निन्दा गर्दछ, हामीले पनि संयमता अपनाएका छौँ, संवाद र कूटनीतिमा जोड दिएका छौँ, हामी इजरेल र हमासबीचको सङ्घर्षमा सर्वसाधारणको भएको मृत्युको पनि घोर भर्त्सना गर्दछौँ”, उनले भने । एजेन्सी

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.