वडा कार्यालयद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन स्वरुप सम्मान
काठमाडाैं । प्युठान जिल्लाकाे प्युठान नगरपालिका वडा नम्बर १ मा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएकाे छ ।
वडा कार्यालयले एक कार्यक्रमकाे आयाेजना गरी आफ्नो वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन स्वरुप सम्मान गरेको हाे।
साेही कार्यक्रममा वडा अध्यक्ष साधना रावतले महिला स्वास्थ्य स्वयंसेविकाहरूले सेवाग्राही र सरकारलाई जोड्ने पुलको काम गरिरहेकाे बताउनु भयाे ।
उहाँले सेवाको दायरा फराकिलो हुँदै गएकाले सरकारले स्वयंसेविकाका लागि स्वास्थ्य बीमा र पर्याप्त भत्ताको व्यवस्था गरेमा स्वास्थ्य स्वयंसेविकाको भूमिका अझ प्रभावकारी हुने जानकारी दिनुभयाे ।
वडा अध्यक्ष रावतले नेपालको स्वास्थ्य क्षेत्रमा स्वास्थ्य स्वयं सेविकाको भूमिका गहन रहेको जिकिर गर्नुभयाे ।
त्यस्तै कार्यक्रमका प्रमुख अथिति वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले सम्मानित हुनुहुने स्वयंसेविका दिदिबहिनीहरुलाई बधाई दिनुभयाे ।
अहिले वडा–वडामा खटिएका महिला स्वास्थ्य स्वयंसेविकाहरूले प्रभावकारी रूपमा आफ्नाे भूमिका निभाइरहेकाे बताउनु भयाे ।
सरकारले सुरुमा परिवार नियोजन कार्यक्रमको लागि महिला स्वयंसेविका कार्यक्रम सुरु गरेको थियो। तिनले विशेष कार्यक्रममा सहभागी भएबापत एकदुई सय भत्ताबाहेक अरु केही पाउँदैनथे।
विगत केही वर्षदेखि सरकारले स्वास्थ्य महिला स्वयंसेविकालाई वार्षिक ७ हजार पोशाक भत्ता र विशेष कार्यक्रममा खटिएबापत ४ सय रुपैयाँ उपलब्ध गराउँछ।







