मौरीपालनले दिन्छ राम्रो आम्दानी

Share Icon

३० फागुन,बेलबारी । मौरीले परागसेचन गरेर उत्पादन वृद्धि र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ । मौरी बिना उचित परागसेचन नहुँदा खाद्य वस्तुको उत्पादनमा समेत ह्रास आउँछ ।

विश्वमा खाद्य उत्पादन वृद्धि गर्न र खाद्य सुरक्षाको प्रत्याभूति गर्न मौरीले पनि अहम् भूमिका निर्वाह गर्दछ । राम्रो बजार र लोभलाग्दो गुण भएकै कारण मौरीपालन कृषकको रोजाइमा पर्दछ ।

मोरङको लेटाङ नगरपालिका भित्रबाट मात्रै व्यावसायिक किसानहरुले उत्पादन गरेको मह औसतमा वार्षिक आठ सय क्विन्टलभन्दा बढी पालिकाबाहिर निर्यात हुने गरेकामा विगत वर्षहरुमा भन्दा यस वर्ष मह उत्पादनमा कमी आउने सङ्केत देखिएको लेटाङ–९ जाँते मनकामना मौरीपालक केन्द्रका सञ्चालक इमनाथ पोख्रेल बताउनुहुन्छ ।

जङ्गली फूल फुल्नु अगाडि पानी पर्न नसक्दा बोटबिरुवाका फूलहरु सुक्न थालेकाले मौरीलाई चरणको अभाव भएको र मह कम उत्पादन हुने सङ्केत देखिएको उहाँको भनाइ छ ।

विसं २०५८ देखि लगातार मौरीपालन गर्दै आउनुभएका पोख्रेल दुई सय ५० घारभन्दा बढी मौरी पालेर वार्षिक ३० देखि ३५ क्विन्टलभन्दा बढी मह उत्पादन गरिरहेको उल्लेख गर्नुहुन्छ ।

तोरीको समयमा मात्रै २० क्विन्टल मह उत्पादन हुुने गरेको उहाँको जिकिर छ । तोरीको फूल फुल्ने समयभन्दा अन्य समयमा मह कम उत्पादन हुने गर्दछ ।

वार्षिक रु १२–१३ लाख कमाई हुने गरेको कृषक पोख्रेल बताउनुहुन्छ । “हाल प्रतिकिलो आठ सयका दरले मह बिक्री गर्ने गरेको र सम्पूर्ण खर्च कटाएर प्रतिकिलो रु तीन सय नाफा हुने गरेको छ”, पोख्रेल भन्नुहुन्छ,“नेपालमा राम्रो मह उत्पादन हुन्छ तर राज्यले यसलाई ब्रान्डिङ गर्न पहल गरिदिनुर्पयो।

अझ चारकोसे झाडी तथा जङ्गलमा चराएका मौरीको महमा औषधीय गुण हुन्छ ।” मेलिफेरा र सेराना जातका मौरीपालन गर्दा राम्रोसँग उत्पादन लिन सकिन्छ । मेलिफेरा जातको मौरीलाई तराई र भित्री मधेसमा पालन गर्न सकिन्छ भने सेराना जातको मौरीलाई उच्च पहाडी क्षेत्रमा पालन गर्न सकिन्छ ।

चरण क्षेत्रमा लगाइएका बालीमा प्रयोग हुने विषादीका कारण मौरीमा प्रतिकूल असर परी मौरीपालन व्यवसायीहरु मारमा पर्दै आएको मौरी चरण क्षेत्र बेलबारी ११ भाङबारीका जीवन अधिकारी बताउनुहुन्छ ।

विदेशी कम गुणस्तरीय मह स्वदेशी बजारमा छ्याप्छ्याप्ती भित्रिदा स्वदेशी महले उचित मूल्य पाउन नसकेको किसान इमनाथ पोख्रेल बताउनुहुन्छ ।

स्वदेशी महको गुणस्तर मापन गरेर ग्राहकसम्म पुर्‍याउन सरकारले भूमिका निर्वाह गरे कृषकलाई राहत पुग्ने उहाँको अपेक्षा छ । निजी क्षेत्रबाट गोल्छा अर्गनाइजेसन कम्पनी र मह कृषकबीच सम्झौता भए पनि कार्यान्वयन भने अझै हुन नसकेको लेटाङ नगरपालिकाका कृषि शाखाप्रमुख करण श्रेष्ठ बताउनुहुन्छ ।

मह परीक्षण ल्याब स्थापना गर्न ढिलाइ भएको कारण देखाउँदै उक्त कम्पनी पन्छिएको कृषक इमनाथ पोख्रेलको आरोप छ । उक्त नगरपालिका क्षेत्रभित्र एक हजार पाँच सयभन्दा धेरै व्यावसायिक मौरीका घारहरु रहेकामा १० वटा मौरीपालन फार्म र एउटा मौरीपालन समूह छन् । वडा नं १, २, ५ र ६ का कृषकहरु मिलेर उक्त समूह सञ्चालन गरिरहेका छन् ।

महमा कार्बाेहाइड्रेट, प्रोटिन, भिटामिन बी, सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छ, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छ । महमा ११ वटा महत्वपूर्ण मिनिरल पाइन्छ, जुन मानव शरीरको बनावट र विकासका लागि निकै आवश्यक हुन्छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.